काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नक्कली भुटानी शरणार्थी प्रकरणका अतिरिक्त यसअघि चर्चामा आएका विभिन्न भ्रष्टाचार काण्डको छानबिन गर्न माग गरेको छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुन बमोजिम आकर्षित हुने राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत किर्तेलगायतका कसुरमा कारबाही चलाउन माग गरेको छ ।
बैठकले भ्रष्टाचार निर्मूल पार्न क्यान्टोनमेन्ट घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइडबडी काण्ड लगायतका सम्पूर्ण भ्रष्टाचारका घटनामा समेत छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेको छ । योपनि राप्रपाले उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले २०४६ पछि उच्च पदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न त्यस्तो आयोग गठनका लागि माग गरेको हो ।
बैठकले किसानलाई तत्काल मल, बिउ सर्वसुलभ उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ । यस्तै, विभिन्न वित्तीय संस्थाहरुले सर्वसाधारणबाट चर्को ब्याजदर असुलेका कारण पीडितहरूले सडक संघर्ष गर्नुपर्ने बाध्यतादेखि नागरिकहरुले आत्मदाह गर्ने पीडादायी क्षण देखेकोरभोगेको भन्दै बैठकले पीडितहरुलाई न्यायका लागि तत्काल ऋणको ब्याजदर घटाउन सरकारसँग माग गरेको छ ।






