काठमाण्डौ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नेबारे छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठकले खाणलाई पार्टीबाट निलम्बन गर्नेबारे छलफल गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण बुधबार बिहान पक्राउ परेपछि देउवाले अपराह्न पदाधिकारी बैठक राखेका हुन् ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले खाणको पक्राउपछिको पार्टीको रणनीतिबारे ब्रिफिङ गरेका थिए । बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतले पार्टीका केन्द्रीय सदस्य खाणलाई निलम्बन गर्नेपर्नेमा जोड दिएका थिए । सहमहामन्त्री महेन्द्र यादवले भने खाणलाई षड्यन्त्र पूर्वका पक्राउ गरिएको भन्दै लोकतन्त्रमाथि खतरा रहेको बताएका थिए ।
आजको बैठकले खाणबारे कुनै निर्णय भने नलिएको प्रवक्ता प्रकाशशरण महतले बताए । उनका अनुसार भोलि दिउँसो २ बजे पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक बस्ने छ । पार्टीको जिम्मेवारीबाट खाणलाई निलम्बन गरेर नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको पक्षमा कांग्रेस उभिने ती पदाधिकारीले बताए ।






