काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड(माधव समूहले माघ ९ गते दोस्रोपटक राजधानी केन्द्रित प्रदर्शन र विरोधसभा गरेको साँझपख प्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता केपी शर्मा ओलीले भनेका थिए, ‘आमसभा भन्ने कस्तो हुन्छ, माघ २३ गते हेर्न आउनू ।’
ओलीले माघ ९ गते नै ‘आमसभा भन्ने कस्तो हुन्छ माघ २३ गते हेर्न आउनु’ भनेर दिएको चुनौतीलाई सम्बोधन गर्दै नेकपाको प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले दिएको उक्त चुनौतिलाई फर्काएका छन्, ‘ओलीजी जनसभा भन्ने कस्तो हुन्छ आज देख्नुभयो नि ।’ ओलीलाई प्रचण्डले माध नभइ वरिष्ठ नेता झलनाथ खनालले पनि भने, ‘ओलीजी जनसभा कस्तो हुन्छ भन्ने आज देख्नु भो नि ।’
प्रचण्ड(माधव समूहले आजको विरोधसभामा दुई लाख मानिस उतार्ने दावी गरेको थियो । विरोधसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आफ्नो अनुमान नभएर साथीहरुको रिपोर्ट भन्दै सभामा पाँचलाख मानिसको सहभागिता भएको रिपोर्ट आएको बताए ।






