बाँके । नेपालगन्ज उप–महानगरपालिका–१ वडाध्यक्ष प्रमोद रिजालले सार्वजनिक जग्गालाई व्यक्तिगत बनाउने प्रयास भईरहेको बताएका छन् । बुधबार पत्रकार सम्मेलान गर्दै वडाध्यक्ष रिजालले स्थानिय चन्द्रकला उप्रेतिले सरकारी जग्गालाई आफ्नो स्वमित्वमा पार्न खोजेको बताउँदै उक्त जग्गाको विषयमा अनावश्यक बहानामा आफुलाई विवादमा पार्न खोजिएको उनले बताएका हुन् ।
उनले सार्वजनिक जग्गा हडप्न नपाएको निहुँमा आफुलाई बारम्बार विवादमा पार्न खोजिएको र अनावश्यक लान्छना लाउन खोजेको वडा अध्यक्ष रिजालको भनाई थियो । वडा नम्बर १ विश्वनाथ टोलमा रहेको सार्वजनिक जग्गा र बाटोको विषयलाई लिएर आफुलाई बारम्बार बदनाम गराउन खोजिएको उनले बताए ।
आफ्नो क्षेत्राधिकार प्रयोग गरेर सार्वजनिक जग्गा संरक्षण र बाटो विस्तार मात्रै गरेको बताउँदै उनले सार्वजनिक जग्गाको संरक्षण गर्नु आफ्नो अधिकार क्षेत्रभित्रको कुरा भएको बताए । अघिल्लो कार्यकालमा पनि नगरपालीकामा समेत धेरै पटक विवाद समाधान गर्ने प्रयास आफुहरुले गरेको उनले बताए ।
उनले भने,‘चन्द्रकला उप्रेतीले यसै विषयलाई लिएर भएजतिका पार्टी कार्यालय, मानव अधिकार आयोग लगायतका स्थानसम्म पुगिसक्नुभएको रहेछ । मलाई प्रधानमन्त्रीको पिएको सम्म फोन आयो । राष्ट्रिय मानव अधिकार आयोगबाट, विभिन्न पार्टी कार्यालयबाट समेत फोन आईसकेको छ । अब भन्नुस मैले क–कसलाई जवाफदिने ।’
उप्रेतीले सार्वजनिक जग्गा आफ्नो नाममा बनाउन नपाएकोमा दोलखा देखिका मान्छे बोलाएर वडा कार्यालयमै पनि हुलहुज्जत गरेको उनले बताए । आफुहरुले धेरै पटक विवाद समाधानको प्रयासपछि पनि विवाद समाधान नहँुदा अदालतले देखाएको बाटोमा आफुहरु जाँदा थुप्रै आरोपहरु खेप्नु परेको उनले बताए ।
‘हामीले डोजर लगाउनु अघि १५ दिने सुचना समेत प्रकाशन गरेका थियौं । हामीले जेजति पनि कामहरु गरेका छौ तिँ सबै कानुनको दायरा भित्र रहेर गरेको कामहरु हुन्,’–उनले भने । चन्द्रकला उप्रेतीले विश्वनाथ टोलमा रहेको सार्वजनिक जग्गा र नक्सामै बाटोको लागि भनेर छुट्याईएको जग्गा आफ्नो भएको दावि गर्दै आईरहेकी छन् ।
नेपालगन्ज उप–महानगरपालिकाको अघिल्लो कार्यकालमा समेत यो विषय सबैको टाउँको दुःखाईको विषय भएको वडा अध्यक्ष रिजालले बताए । सो पत्रकार सम्मेलनमा नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उप–प्रमुख कमरुद्दिन राई कर्मचारी तथा टोलवासीहरुको समेत सहभागिता रहेको थियो ।








