बाँके । भारततर्फ निकासी नहुँदा बाँकेको नेपालगञ्जमा संकलन गरिएका जडीबुटी थन्किएका छन् । दुई वर्षअघि नेपालगञ्जमा खरिद गरी भारत निकासी गर्न तयार गरिएको ७ सय टन जडीबुटी थन्किएका हुन् । भारत सरकारले नेपालको ल्याबलाई मान्यता दिए पनि सेन्टर ल्याब ठीक नभएकाले जडीबुटी सूचीकृत हुन नसक्दा निर्यात रोकिएको जडीबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष टंकप्रसाद शर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘खाद्य मिसावट ऐनअन्र्तगत जडीबुटीमा किरा लागेको छ÷छैन भनेर हेर्ने मेसिन नेपाल सरकारले व्यवस्थापन गरेको छैन । त्यसो नगर्दा प्रमाणित नभएसम्म जडीबुटी नाकाबाट पार हुने अवस्था रहंदैन ।’ उहाँका अनुसार नेपालका विभिन्न जिल्लामा संकलन गरिएका ३० प्रकारका जडीबुटी नेपालगन्ज ल्याएर भारततर्फ निकासी हुँदै आएको थियो ।
संघका केन्द्रीय अध्यक्ष शर्माका अनुसार जटामसी मार्क, अमला, सिकाकाई, बोजो, सिकागाई, तिगेडी, कुट्की, पाखनवेद, चुत्रो बोक्रा, चुत्रो काठ, पदमचाल, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, अमलवेद र टिमुरलगायत १६ प्रकारका जडीबुटी निकासी बन्द भएको हो । निर्यातका लागि तयार जडीबुटी अलपत्र हुँदा व्यवसायीको करोडौं रुपैयाँ नोक्सान हुने सरकारले निर्यातको वातावरण बनाइदिनुपर्ने शर्माले बताउनुभयो ।
३० प्रजातिका जडीबुटीलाई सरकारले प्राथमिकतामा राखेको छ । भारतीय रोकावटका कारण नेपालगन्जबाट हुने जडीबुटी निर्यात बर्सेनि घट्दै छ । संघका अनुसार २०७७÷७८ मा नेपालगन्ज हुँदै ४२ थरीका ४५ लाख १८ हजार ७ सय ७७ केजी जडीबुटी निकासी भएको थियो । आव २०७८÷७९ मा त्यो मात्रा घटेर ४२ लाख २० हजार २ सय २८ केजी जडीबुटी निर्यात भएको थियो ।
बाँकेमा हाल कुरिलो, अमला, मेन्थालगायत प्रजातिका जडीबुटीको खेती हुने गरेको छ । यहाँ जडीबुटीसम्बन्धी १२ उद्योग छन् । केन्द्रले बाँकेमा जडीबुटी खेतीको संरक्षण र प्रवर्द्धन, जडीबुटीको विकास, वनस्पति संरक्षण एवं उद्यम विकास, वनस्पति अध्ययन अनुसन्धान तथा बजारीकरणसम्बन्धी कार्ययोजनाअनुसार आफ्नो भूमिकालाई अघि नबढाएको उहाँले बताउनुभयो ।
जडीबुटी व्यवसायी संघका महासचिव भानुभक्त रिजालले नेपाली जडीबुटीको ७० प्रतिशत बजार भारत नै भएकाले निकासीमा हुने अड्चन हटाउने विषयलाई लिएर सरकारले उचित कदम चाल्नुपर्नेे बताउनुभयो । उहाँले भन्नुभयो,‘निकासी बढाउन सरकारले दुई देशबीच पहल गर्नुपर्छ ।’






