काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले नेपाली समाजले भ्रष्टाचार स्वीकारिसकेको बताएकाछन् । मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७७ माथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक परियारले यस्तो बताएका हुन् । उनले समाजले भ्रष्टाचार स्वीकार्नु सबैभन्दा ठूलो विषय भएको बताए ।
परियारले संस्कृतिमा भएको भ्रष्टाचारलाई कसरी निवारण गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताए । उनले नेपालमा नीतिगत, राजनीतिक भ्रष्टाचार व्याप्त भएको बताउँदै राज्यले भ्रष्टाचार गर्दा नागरिक गरिब भएको उल्लेख गरे । उनले भने,‘हाम्रो संस्कृति नै भ्रष्ट छ । संस्कृतिमा भएको भ्रष्टाचारलाई कसरी निवारण गर्ने ? कानुनले मात्रै सबै कुरा गर्छजस्तो मलाई लाग्दैन । हाम्रोमा भ्रष्टाचार नीतिगत छ ।
राजनीतिक भ्रष्टाचार छ, हाम्रो भ्रष्टाचार शक्तिले गर्छ । कमजोरहरूले गर्दैनन् । यो सबैभन्दा ठूलो अपराध हो । नागरिक आफैँ आफ्ना कारणले गरिब छैनन् । राज्यले भ्रष्टाचार गर्छ, नागरिकलाई गरिब बनाउँछ । सीमित मानिसलाई मात्रै धनी बनाउँछ । यो विधेयकमा यस्ता कुरा आउनुपर्छ । नेपाली समाजले भ्रष्टाचार स्वीकारिसकेको छ, यो डरलाग्दो कुरा हो ।’






