डोल्पा । सशस्त्र प्रहरीको लठ्ठी लागेर वडाध्यक्ष गम्भीर घाइते भएका छन् । ठूलीभेरी नगरपालिकाले आयोजना गरेको प्रथम मेयरकप प्रतियोगिता अन्तर्गत चौथो दिनमा भएको फुटबल खेलमा खेलाडीबीचको विवाद नियन्त्रणमा लिनेक्रममा सशस्त्र प्रहरीको लाठी प्रहारबाट त्रिपुरासुन्दरी नगरपालिका –३ सुउँका ४३ वर्षीय वडाअध्यक्ष भक्तबहादुर केसी घाइते भएका हुन् ।
त्रिपुरासुन्दरी नगरपालिका –३ र जगदुल्ला गाउँपालिका –२ बीचको फुटबल खेलमा भएको विवादमा सशस्त्र प्रहरीले खेलमैदानमा जर्सीसँग रहेका खेलाडी र दर्शकलाई समेत लखेटेको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाल पत्रकार महासङ्घका अध्यक्ष सरोज थापाका अनुसार सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक फुजिले शेर्पाको कमाण्डमा रहेका सशस्त्रका जवानहरूले खेलाडीबीच भएको विवाद नियन्त्रणको प्रयास गर्दा केहीबेर तनाव भएको थियो ।
सशस्त्र प्रहरीको लठ्ठी चार्जबाट वडाअध्यक्ष केसीको टाउकोमा गहिरो चोट लागेको छ । उनको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ । सशस्त्र प्रहरीले शान्ति सुरक्षाको नाममा उद्दण्ड मच्चाएको प्रत्यक्षदर्शीले आरोप लगाएका छन् । वडाअध्यक्षसहित केही खेलाडी समेत घाइते भएपछि समस्या समाधान नभएसम्मका लागि फुटबल खेल स्थगित गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेलको कार्यकक्षमा ठूलिभेरी नगरपालिकाका नगरप्रमुख सुवर्ण बुढा, त्रिपुरासुन्दरी नगरपालिका नगरप्रमुख जनचन्द्र रोकाया, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक फुजिले शेर्पा, प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक केशव बुढाथोकीले खेलाडी, नागरिक समाज र सञ्चारकर्मीसहितको उपस्थितिमा घटनाबारे छलफल भएको बताइएको छ ।






