काठमाण्डौ । कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी सहायक हवल्दारले गोली प्रहार गर्दा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का नेता तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’की आमा तीर्थमाली पुन मगर घाइते भएकी छन् ।
७० वर्षीया पुन मगरमाथि गएराती काठमाण्डौको मालीगाँउस्थित घरमै गोली प्रहार भएको हो । । खुट्टामा गोली लागेर घाईते भएकी उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटना काठमाडौं मालीगाँउमा रहेको नेता पुनको दाइको घरमा भएको बताइएको छ ।
उच्च प्रहरी स्रोतका अनुसार नातामा नातीपर्ने प्रहरीका सहायक हवल्दार प्रकाश पुन मगरले चलाएको गोली लागेर उनी घाइते भएकी हुन् । प्रहरी उच्चस्रोतका अनुसार सहायक हवल्दार पुन मगर सोही घरमा बस्दै आएका थिए ।
नयाँ वर्षमा खानपिनपछि उत्पन्न विवादमा सुरक्षाका लागि राखेको आफ्नै हतियारले पुन मगरले बृद्ध तिर्थमाली माथि गोली प्रहार गरेको प्रारम्भीक प्रहरी अनुसन्धानमा खुलेको स्रोतले जनाएको छ । घटनापछि राती नै काठमाडौं प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।






