रुपनी जि एम, बाँके । सडकमा विजुली बत्तिका पोल जडान गर्नु भनेको राती सडकलाई उज्यालो बनाउनु हो तर बाँकेको जानकी गाउँपालिका वडा नं. ६ को गनापुर स्थित नेपालगञ्ज कोहलपुर सडकखण्डमा पर्ने पिपरहवा चोकमा बत्ति बल्दैनन् । विद्युत महसुल नबुझाउँदा राती बल्नु पर्नेे ‘हाई माक्स लाईट’ दिउँसो मात्रै देखिन थालेको २ महिना भन्दा धेरै भएको छ ।
दिउँसो टाढैबाट देखिने ‘हाई माक्स लाईट’ राती कुन गाडीले ठोकिदिने हो भन्ने स्थानियको चन्ताको विषय बनेको छ । ८ वटा बत्ति भएको उक्त ‘हाई माक्स लाईट’ दिउँसो हेर्नलाई मात्र जडान गरिए जस्तो भएको छ । विगत डेढ वर्षदेखि केही लाईट बल्ने र केही नबल्ने अवस्थामा रहेको सो ‘हाई माक्स लाईट’ को २ महिनादेखि सबै बत्ति बल्न छाडेको स्थानिय बताउँछन् ।
स्थानिय देवीराम यादव भन्नुहुन्छ,‘शुरुशुरुमा त राम्रै बल्थ्यो तर पछिपछि विस्तारै एउटा एउटा गर्दै बत्ति निभ्न थाल्यो अहिले त सबै बल्नै छाड्यो ।’ ‘हाई माक्स लाईट’ का बत्तिहरु सबै बल्न छाडेपछि विगत २ महिनादेखि गाडीको आवाज सुनेर अध्याँरो सडक वारपार गर्न बाध्य भएको बताउनुहुन्छ अर्का स्थानिय चेतन गोडरिया ।
औधोगिक कलकारखाना धेरै भएको उक्त वडामा ‘हाई माक्स लाईट’ ले दिएको उज्यालोले खुशी भएका स्थानियहरु अध्याँरोमा हिंड्न बाध्य बनिरहँदा अहिले दुःखी भएका छन् । उक्त लाईट बिग्रदा रातीमा सवारी दुर्घटनाको सम्भावना उच्च रहेको गनापुर प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरीक्षक राजेश्वर गोसाईले बताउनुभयो ।
‘पहिला बत्ति हुँदा हामीलाई निकै सजिलो थियो । टाढाटाढासम्म सबै देखिन्थ्यो तर अहिले पुरै सडक साँझैबाट अध्याँरो हुन थाल्छ ।’ प्रहरी नायव निरीक्षक गोसाईले बताउनु भयो । सडकमा बत्ति नबल्दाको सास्तीलाई उहाँले थप्दै भन्नुभयो,‘यो क्षेत्र औधोगिकको क्षेत्र भएको हुनाले रातीमा डियुटि सकेर घर फर्कने कामदारहरुलाई बाटो काट्न निकै कठिन छ ।’
अपराधका घटनाहरु अध्याँरोमा धेरै घट्ने सम्भावना भएको बताउँर्दै प्रहरी नायव निरीक्षक गोसाईले ‘हाई माक्स लाईट’ लाई बाल्नका लागि आफुले वडालाई दबाब दिएको समेत बताउनु भयो । सडकको बत्ति बल्नुको साटो निभेर अध्याँरो हुनुको कारण स्थानिय निकायले समयमै विद्युतको महसुल नबुझाएको बताउनुभयो ।
उक्त पालिकामा तीन वटा ‘हाई माक्स लाईट’ रहेका छन् । जसमध्ये गनापुर चोकमा रहेको ‘हाई माक्स लाईट’ को विगत दुई वर्षदेखि विद्युत महसुल नबुझाएको र त्यसको लागि आफुले पालिकालाई पहल गरेको वडाध्यक्ष जगदिश हरीजंगले बताउनु भयो । ‘मैले लिखित र मौखिक दुबै रुपमा पालिकामा बत्तिको लागि दबाब दिएको छु ।’
यसै विषयमा पालिका अध्यक्ष छब्बन खाँ भन्नुहुन्छ,‘०७४ सालका जनप्रतिनीधिले विद्युत महसुल नतिरिदिँदा हामीलाई त्यसको भार परेको हो ।’ विगत २ वर्षदेखि नतिरिएको विद्युत महसुल बढेर झण्डै ढाई लाखको हाराहारीमा रहेको बताउँदै अध्यक्ष खाँले भन्नुभयो,‘हामीले पैसाको व्यवस्था गरिसकेका छौं । अबको एक हप्तामा ‘हाई माक्स लाईट’ बल्नेछ ।’
जानकी गाउँपालिकाको गनापुर, बेलहरी र जोगगाऊँ गरी तीन ठाउँमा ‘हाई माक्स लाईट’ रहेका छन् । अध्यक्षको भनाई अनुसार बेलहरी र जोगगाऊँ स्थित ‘हाई माक्स लाईट’ को विद्युत महसुल पनि पहिलाका जनप्रतिनीधिले नतिरिदिंदा उक्त दुई ठाउँका महसुल पनि आफैले चुक्ता गरेर ती ठाउँहरुमा उज्यालो बनाएको उहाँले बताउनुभयो । उक्त पालिकामा ‘हाई माक्स लाईट’ संगै गनापुर, बेलहरी, ईन्द्रपुर र साईगाउँ गरी ४ वटा गाउँमा ७ वटा सोलार बत्ति रहेका छन् ।






