नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा धेरै समस्या भएको बताउँदै ती सबै प्रकारका समस्यालाई केवल युवाले मात्र गर्न सक्ने बताएका छन् । सोमबार नेपालगञ्जमा भएको पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई उनले देशको भविष्य कस्तो बनाउने भन्ने कुरा युवाले सोच्नु पर्ने बताउँदै यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले युवाहरूले इतिहास होइन भविष्यको कुरा गर्नु र सोच्नु पर्ने उनले बताए । भविष्यको तयारी, काम, आन्दोलन, संकल्प, योजना र अनुशासनको कुरा गर्नुपर्नेमा उनले जोड दिए । युवाहरू सूर्य जस्तै अनुशासित हुनु पर्नेमा उनको जोड छ । अनुशासनमा नबस्ने व्यक्ति र संगठन कुबाटोमा जाने ओलीले प्रष्ट पारे ।
ओलीले देशमा अहिले विभिन्न विकृति र विसंगति भएपनि त्यसलाई रोकेर देशलाई ओरालो लाग्नबाट बचाउन सकिने उनले प्रष्ट पारे । उनले एमाले समाजका सबै वर्ग र समुदायको पार्टी भएको जिकिर गरे । अध्यक्ष ओलीले नेकपा एमालेले सुखी नेपाली समृद्ध नेपालीको आकांक्षा पूरा गर्ने स्पष्ट पारे । उनले भने, ‘नेकपा एमाले लौरो टेक्ने ज्येष्ठ नागरिकको मात्र होइन सशक्त युवाको पनि पार्टी हो ।’






