नेपालगन्ज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशन आजदेखि नेपालगञ्जमा सुरु हुने भएको छ ।
आज चैत २७ देखि २९ गतेसम्म हुने नवौ राष्ट्रिय महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दिउसो दुई बजे गर्ने तयारी भएको संघका प्रवक्ता महाराज गुरुङले बताउनुभयो ।
उहाँका अनुसार, महाधिवेशनमा भाग लिन देशभरबाट दुई हजार बढि युवा प्रतिनिधि नेपालगञ्ज आउनु भएको छ । महाधिवेशनले समग्र युवा आन्दोलनको समिक्षा गर्दै नयाँ नेतृत्व चयन गर्नुका साथै युवालाई सामाजिक रुपान्तरण गर्न मार्गनिर्देश गर्ने छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेत पायक पर्ने गरी लुम्बिनी प्रदेशको नेपालगञ्जमा महाधिवेशन गरिएको उल्लेख गर्दै उहाँले दशकपछि हुन थालेको महाधिवेशनले नेतृत्व चयनमात्रै नभई युवाका अहिलेका मुद्दा र राजनीतिप्रति युवाको निराशालाई समेत सम्वोधन गर्ने जानकारी दिनुभयो ।
महाधिवेशनको उद्घाटन समारोहमा सहभागि हुन पार्टी महासचिव शंकर पोखरेल, पोलिटब्यूरो सदस्य एवम् युवा इन्चार्ज महेश बस्नेत आईतवारनै नेपालगन्ज आउनु भएको छ भने पार्टी अध्यक्ष केपी शर्मा ओली आज ११ बजे नेपालगन्ज पुग्ने कार्यक्रम तय भएको महाधिवेशन आवास समिति संयोजक रबिन्द्र लम्सालले जानकारी दिनुभयो ।
पार्टी अध्यक्षलाई नेपालगञ्ज विमानस्थलबाट भव्य स्वागतका साथ युवाहरुको जुलुससहित कार्यक्रम स्थल नेपालगञ्ज ल्याउने तयारी गरिएको उहाँको भनाई छ ।









