काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताएका छन् । मङ्गलबार नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १६ औँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अन्य उद्योगभन्दा पनि कृषिमा आधारित उद्योगको विस्तारले नै अर्थतन्त्रका लागि दिगो हुने धारणा राखेका थिए ।
उनले मौलिक संस्कृति, परम्पराअनुसार घरेलु उत्पादनलाई प्रवर्धन र विकसित गर्न आवश्यक रहेको बताए । उनले नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गरी कृषिमा आधारित उद्योगको विस्तार र रोजगारी सिर्जना गर्नेमा उच्च प्राथमिकता नदिई नेपाललाई आत्मनिर्भर अर्थतन्त्रसहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको परिकल्पना पूरा नहुने दाबी गरे ।
प्रधानमन्त्री प्रचण्डले नेपालीको सोचमा नेपालीपन ल्याउन जरुरी रहेको बताए । उनले नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेको भन्दै अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयो त्यसको खोजी गर्नु आवश्यक रहेको बताए । उनले राज्यका कतिपय नीतिगत वैधानिक कारण र ऐनले घरेलु उत्पादनलाई प्रवर्धन गरी आत्मनिर्भर बनाउन नसकिएको स्वीकार गरे ।
उनले भने,‘पहिलो कुरा हाम्रो सोचमा नेपालीपन बनाउन जरुरी छ । नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेको थियो, विदेशी रकम भित्र्याउने गरेको थियो तर अहिले धेरै वर्षको अध्ययन अनुसन्धान र मेहनत गरी आधुनिकताका कुरा गरेर किन परनिर्भर भएर गयौँ ? त्यसको खोजी गर्नुछ । कृषिमा आधारित उद्योगहरू नै नेपालका लागि दिगो उद्योग हुनसक्छ ।
लघु, घरेलु तथा साना उद्योगभन्दा पनि कृषिमा आधारित उद्योग नै हो । वर्तमान सरकारलाई असफल हुने छुट छैन । राष्ट्र र नागरिकको पक्षमा तथा अर्थतन्त्रमा देखापरेका सङ्कटलाई समाधान गर्ने, सुशासनको पक्षमा र समृद्धिको नयाँ अभियानमा हामी सफल हुनुपर्छ ।’ प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि देशमा वित्तीय सङ्कट देखिएको बताए ।
उनले बैंकको ब्याजदरमा भएको वृद्धिको कारणले देखापरेका समस्या समाधानका लागि अर्थ मन्त्री र राष्ट्र बैंकका गभर्नरसँग बैठक राखेर तत्काल व्यवासायीहरूलाई राहतका निम्ति कोसिस गरिहेको बताए । महामारीको कारणले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले समस्या सिर्जना गरेको लघु, घरेलु अथवा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरेको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले सरकारका केही नीतिगत, सोच, व्यावहारिक र संस्कारका कारणले अहिलेको स्थितिबाट गुज्रिएको बताए । उनले नेपाल आत्मनिर्भर हुने आफ्नै स्रोत र साधनको अधिकतम प्रयोग गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने सोचमा त्रुटि रहेको पनि बताए । रासस






