काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने बताएका छन् । सरकारले जनयुद्ध दिवसका नाममा आज सोमवार सार्वजनिक बिदा दिएको भन्दै चौतर्फी विरोध भइरहेका बेला महामन्त्री थापाले विज्ञप्ति नै निकालेर स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने बताएका हुन् ।
महामन्त्री थापाले पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको बताएका छन् । उनले कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोडघटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थका लागि बिदा दिइएको भन्दै असन्तुष्टि जनाउका हुन् ।
‘झन् प्रदेश र पालिकामा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन् । यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो । सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो’, उनले विज्ञप्तिमा भनेका छन् । महामन्त्री थापाले कार्यकारीको यस्तो स्वेच्छाचारितालाई नियमन गर्न उसैलाई जिम्मा दिनुको के अर्थ ? भन्दै प्रश्न गरेका छन् ।
कार्यकारी स्वेच्छाचारितालाई रोक्ने व्यवस्थापिकाले हो भन्दै उनले यो विषयमा छुट्टै कानुन बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिने बताए । ‘न्युजिल्यान्ड, जापान लगायत विश्वका थुप्रै देशहरूमा सार्वजनिक बिदासम्बन्धी कानुन छ, त्यसैका आधारमा बिदा तय गरिन्छ । नेपालमा पनि कानुन बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित छ’, उनले भने ।






