काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दलहरुसँग भएको सहमति कार्यान्वयन भए पुन सरकारमा जाने बताएको छ । पार्टीको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी जानकारी दिए । ‘सहमति कार्यान्वयन गर्ने अवस्था रह्यो भने हामी फेरि सरकारमा जान सक्छौ । त्यो विषयमा तोडिएको जस्तो अनुभूति भएर हामीले सरकार छोडेका हौ ।’
बैठकपछि बुर्लाकोटीले भने, ‘बैठकमा अध्यक्षले अहिलेको राजनीतिक घटनाक्रम र उच्चस्तरीय संयन्त्रमा भएको छलफलबारे ब्रिफिङ गर्नुभयो ।’ उनले पुरानो सहमति कायम वा चत्तिबुझदो नयाँ सहमति भए सरकारमा जान सकिनेबारे छलफल भएको बताए ।
उनले उपनिर्वाचनमा सभापति रवि लामिछाने उम्मेदवार हुने र त्यो निर्वाचनपछिमात्रै सभापति लामिछाने सरकारमा जाने बताए । लामिछानेको नागरिकता विवादपछि रास्वपा गृह मन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरिएको थियो ।






