काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको नाममा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पुर्याएको उच्चतम योगदानको सम्मान गरेको जिकिर गरेका छन् । सोमबार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले यस्तो बताउएका हुन् ।
उनले बिदालाई लिएर पूर्वाग्रह राख्नेहरूले जेसुकै भने पनि सङ्घीय सरकारले सार्वजनिक बिदा दिनुअघि नै मधेस, बाग्मती र कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरेको बताए । उनले भने,‘आज केन्द्र सरकारले दिएको बिदाले नेपाली राजनीतिमा जनयुद्धले पुर्याएको उच्चतम योगदानको सम्मान गरेको छ । गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान गरेको छ ।
यसमा पूर्वाग्रह राख्नेहरूले चाहे जेसुकै किन नभनुन्, सङ्घीय सरकारले सार्वजनिक बिदा दिनुअघि नै मधेस, बाग्मती र कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरेको थियो । हामीले नागरिकको जीवनमा परिवर्तनको अनुभूति गराउन नसके चुनौतीहरूको चाङ लाग्नेछ र यो परिवर्तनप्रति नै प्रश्नहरू उठ्नेछ । सबै सरकारले यसमा गम्भीर ध्यान दिनुपर्छ ।’
उपराष्ट्रपति पुनले संविधानलाई परिष्कृत परिमार्जन तथा संशोधन गरेर समृद्धि बनाउन र पूर्ण कार्यान्वयन गर्न अझै धेरै मेहनत गर्नुपर्ने बताए । उनले शान्ति सम्झौताको बाँकी कामलाई छिटो टुङ्गोमा पुर्याउन आवश्यक रहेको बताए ।






