काठमाण्डौ । आजदेखि सुरु हुन लागेको विवेकशील साझा पार्टीका प्रथम महाधिवेशनका लागि तीन जनाले नेतृत्वमा आकांक्षा व्यक्त गरेका छन् । सो पार्टीका केन्द्रीय नेताहरू समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले भावी नेतृत्वको लागि आकांक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु गरिसकेका छन् ।
‘अध्यक्षका लागि अहिलेसम्म तीन जनाको नाम आएको छ, महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछ ।’ परियारले भने । काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १ बजे सुरु हुने महाधिवेशनको तयारी सम्पन्न भएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए ।
उनका अनुसार पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । महाधिवेशनको राजनीतिक दस्ताबेजका लागि केशव दाहाल तथा प्रस्तावित विधानका लागि रमेश पौडेलले प्रस्ताव पेस गर्ने पाण्डेले जानकारी दिए ।
उनका अनुसार महाधिवेशन पछि विवेकशील बह पदीय प्रणालीमा जानेछ । शुक्रवारदेखि सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।






