दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समृद्ध प्रदेश निर्माणको अभियानमा जोडिन जिल्ला समन्वय समितिलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेश समितिको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले समृद्ध प्रदेश निर्माणको अभियानमा जोडिन जिल्ला समन्वय समितिलाई निर्देशन दिएका हुन् ।
‘हामी समृद्ध प्रदेश निर्माणको अभियानमा जुटेका छौं । हाम्रो अभियानलाई सफल बनाउन तपाईँहरु लाग्नुहोस् । सबै मिलेर लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउनुपर्दछ ।’ उनले भने । राप्ती उपत्यका देउखुरीबाट प्रदेश सरकारको कार्यसम्पादन सुरु गरेको भन्दै मुख्यमन्त्री गिरीले पाँच वर्षभित्र प्रदेशबासीलाई व्यवस्थित राजधानी प्रदान गर्नेगरी सरकार अगाडि बढेको बताए ।
‘राजधानीको निर्णय कार्यान्वयन गर्दै राप्ती उपत्यका देउखुरीबाट प्रदेश सरकारले कामकारबाही सुरु गरेको छ । हामी व्यवस्थित राजधानी निर्माणको अभियानमा छौं’, मुख्यमन्त्री गिरीले भने,‘प्रदेश सरकारको योजनालाई सफल बनाउने दायित्व तपाईँहरुको हो । जिल्ला समन्वय समितिको हो । समृद्ध प्रदेश निर्माणको जिम्मेवारी बहन गर्नतर्फ लाग्नुहोस् ।’
संविधानले तीन तहका सरकारको व्यवस्था गरेको बताउँदै मुख्यमन्त्री गिरीले भने,‘तीन तहका सरकारको पुलकारुपमा जिल्ला समन्वय समितिले काम गर्नुपर्दछ । प्रदेश सरकार र स्थानीय तहका बीचमा समन्वय गराउन यहाँहरुको भूमिका महत्वपूर्ण रहन्छ । यहाँहरुको भूमिकाले नै प्रदेशको सफलता निर्धारण गर्छ भन्ने कुरालाई मनन गर्नुहोला ।’
जिल्ला समन्वय समितिलाई आवश्यक कानुन निर्माण गर्नेतर्फ सरकार लागिपर्ने भन्दै मुख्यमन्त्री गिरीले कानुन निर्माणमा सहयोगी भूमिका खेल्न आग्रह गर्नुभयो । ‘जिल्ला समन्वय समितिलाई प्रयाप्त अधिकार नभएकोतर्फ हाम्रो ध्यानाकर्षण भएको छ । कानुन बनाउने जिम्मेवारी सरकारले पुरा गर्छ । यहाँहरुको विषयमा हामी गम्भिर छौं’, मुख्यमन्त्री गिरीले भने,‘जिल्ला समन्वय समितिसँगको आपसी छलफलबाट उपयुक्त कानुन निर्माण गर्छौं ।’
स्थानीय स्रोत परिचालनमा जिल्ला समन्वय समितिको भूमिका रहने भन्दै मुख्यमन्त्री गिरीले वातावरणीय सन्तुलन नबिग्रने गरी स्रोतसाधनको परिचालन गर्न समितिलाई निर्देशन दिए । ‘स्थानीय स्रोतसाधनको परिचालन गर्दा ध्यान पु¥याउनुपर्दछ । अर्थतन्त्र बलियो बनाउने माध्यम स्थानीय स्रोतसाधन पनि हुन् । विश्वका धेरै मुलुकहरु स्रोतसाधनको उचित प्रयोगबाटै समृद्ध बनेका छन् ।
हामीले उनीहरुबाट पाठ सिक्दै स्थानीय स्रोतसाधन परिचालनमा ध्यान दिनुपर्दछ’, मुख्यमन्त्री गिरीले भने‘स्रोतसाधनको परिचालन गर्दा वातावरणीय सन्तुलनलाई कायम राख्नुपर्दछ । स्रोतसाधन परिचालनको नाममा कतै वातावरण बिगार्ने कार्य भइरहेको छ भने त्यसलाई रोक्नुपर्दछ । त्यसमा यहाँहरुको भूमिका रहन्छ ।’






