काठमाण्डौ । नेपालले मलेसियामा सुरक्षा गार्डमा खटिने नेपालीलाई काम गरेको समय र क्षमता अनुसार सम्मानयोग्य तलब प्रदान गर्न अनुरोध गरेको छ । तीन दिने नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इजमाइलसँग शुक्रबार काठमाण्डौमा भएको भेटवार्तामा मलेसियामा कार्यरत सुरक्षा गार्डलाई खटिएको समय अनुसार तलब प्रदान गर्न अनुरोध गरिएको हो ।
मलेसियामा कार्यरत सबै श्रमिकलाई श्रम समझदारी अनुसार र करार सम्झौता अनुसार सेवा शर्त तथा सुविधा उपलब्ध गराउन अनुरोध गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यसका साथै नेपालले मलेसियालाई त्यहाँ कार्यरत नेपालीहरूलाई मलेसियाको सामाजिक सुरक्षा प्रणालीमा पूर्ण रूपमा आबद्ध गराउन, औपचारिक माध्यमको प्रयोग गरी रेमिट्यान्स नेपाल पठाउनका लागि मलेसियास्थित बैंक तथा वित्तीय संस्थाहरूलाई सहजीकरण गरिदिन पनि भनेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइलबीच शुक्रबार भेटवार्ता भएको हो । भेटमा श्रम मन्त्री अर्यालले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको सेवा(र्शत, स्वास्थ्य सुविधा तथा कार्य वातावरणका सम्बन्धमा स्वदेशी तथा विदेशी श्रमिकबीच समान व्यवहार गर्न पनि अनुरोध गरेका छन् ।
छलफलको क्रममा मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसनले नेपाल र मलेसियाबीच भएको श्रम समझदारी कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको श्रम मन्त्रालयले जनाएको छ । यसका साथै मलेसियामा गैरकानुनी हैसियतमा कार्यरत श्रमिकहरूलाई कानुनी हैसियत प्रदान गर्ने गरी मलेसियाले ल्याएको फोरेन वर्करस इप्लोइमन्ट रिल्याक्सेसन प्लानमा सहयोग गर्न पनि मलेसियाले नेपाललाई अनुरोध गरेको छ ।
मलेसिया र नेपालबीचको द्विपक्षीय श्रम समझदारीको नवीकरण प्रक्रिया अगाडि बढाउनका यसै वर्ष नेपालमा संयुक्त कार्यसमितिको बैठक समेत बस्ने भएको छ । त्यसका लागि मलेसियाले प्रतिबद्धतासमेत जनाएको श्रम मन्त्रालयले जनाएको छ ।






