काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेन्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् । आइतबार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषका कर्मचारीलाई क्यालेन्डरअनुसार कार्ययोजना बनाएर काम गर्ने निर्देशन दिएका हुन् ।
उनले लुम्बिनीजस्तो पवित्र स्थलको काम इमानदारिताका गर्न आग्रह गरे । मन्त्री किराँतीले गौतम बुद्धको जन्मथलो लुम्बिनी मागीखाने भाँडो नभएर बौद्ध धर्मलम्बीहरूको नाभी तथा ढुकढुकी भएको बताए । उनले कर्मचारीलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गरे । नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने, पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको उनको भनाइ छ ।
उनले भने,‘लुम्बिनी विकास कोषको रिपोर्टमा म सन्तोष छैन । लुम्बिनीको विकास गर्न बजेट छ, कार्यक्रम छ तर काम किन छैन रु संविधानअनुसार कानुन छ, कानुनअनुसार संरचनाहरू निर्माण भएका छन्, संरचनाहरूमा कर्मचारी छन् तर काम किन छैन ? अब काम चाहियो । लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेन्डरअनुसार कार्ययोजना चाहिन्छ । लुम्बिनीलाई विकास गर्ने नाममा मागीखाने भाँडो बनाउनुभएन ।’
मन्त्री किराँतीले लुम्बिनी विकास कोषको काम भएन भनेर कर्मचारी सरुवा गरेर रमिता नदेखाउने पनि बताए । उनले कर्मचारी सरुवा तथा थर्काउने पुरानो प्रवृत्ति भएको भन्दै वर्तमान सरकारले कर्मचारीबाट क्यालेन्डरअनुसार कामको परिणाम ल्याउने दाबी गरे । कार्यक्रममा पर्यटन सचिव सुरेश अधिकारीले लुम्बिनी विकास गुरुयोजनाभन्दा बाहिर संरचना निर्माण भएको स्वीकार गरे ।
उनले गुरुयोजनाभन्दाबाहिरका संरचना बनाउनुपर्ने बाध्यता भए पनि कतिपय बनाउनुनपर्ने संरचना बनाइएको बताए । लुम्बिनी क्षेत्रभित्रका विभन्न जग्गा अन्तर्राष्ट्रिय धार्मिक संस्थाहरूलाई बाँडफाँट भएकाले समस्या भएको उनको भनाइ छ । यो समाचार उज्यालोबाट साभार गरिएको हो ।






