काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अध्यक्षमा रवि लामिछानेको पुनर्बहाली भएको छ । धुम्बाराहीमा आज आइबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्बहाली गरेको हो । गएको शुक्रवार सर्वोच्च अदालतले लामिछानेको नागरिकता नै अवैध ठहर गरेपछि उनको पार्टी सभापति, सांसद र मन्त्री पद नै खारेज भएको थियो ।
तर आज नागरिकता पुनः कायम भएपछि उहाँ फेरि सभापति हुन योग्य भएका हुन् । यसअघि नै नेपालको नागरिकता लिसकेका लामिछानेले अमेरिका गएपछि उतैको नागरिकता लिँदै नेपाली नागरिकता त्यागेका थिए । तर अमेरिकी नागरिकता परित्याग गरेपछि पुनः नयाँ प्रक्रियाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्नेमा पुरानै नागरिकताको आधारमा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिएका थिए ।
लामिछाने गएको मङ्सिर ४ गते भएको चुनावमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई गैरनागरिक ठहर गरेपछि रास्वपाको सभापतिबाट स्वतः पदमुक्त भएका थिए । आइतबार नागरिकता पुनः प्राप्तिपछि लामिछाने पार्टी सभापतिमा फर्किएका छन् ।






