काठमाण्डौ । रवि लामिछानेको पुनः दोश्रो नेपाली नागरिकताको प्रमाणपत्र बनेको छ । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौले दोश्रो नेपाली नागरिकता बनाई दिएको हो । लामिछानेले स्थानीय प्रशासनको सिफारिस अनुसार नागरिकता पुनः पाउँ भनेर दिएको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नागरिकताको प्रमाणपत्र दिएको स्वकीय सचिव दीपक बोहोराले बताए ।
यसअघि नै नेपालको नागरिकता लिइसकेका लामिछानेले अमेरिका गएपछि उतैको नागरिकता लिँदै नेपाली नागरिकता त्यागेका थिए । तर अमेरिकी नागरिकता परित्याग गरेपछि पुनः नयाँ प्रक्रियाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्नेमा पुरानै नागरिकताको आधारमा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिएका थिए ।
सांसद हुँदै उप्रधान एवम् गृहमन्त्री बन्नुभएका लामिछानेको नागरिकता नै अवैध रहेको सर्वोच्चको फैसलापछि उनले पुनः नागरिकताको प्रमाणपत्र लिएका हुन् । अवैध नागरिकताकै कारण उनको सांसद र मन्त्री पद खारेज भइसकेको छ । लामिछाने गएको मङ्सिर ४ गते भएको चुनावमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।






