काठमाण्डौ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छिन् । प्रतिनिधिसभामा आज भएको मत विभाजनमा राना १ सय ६६ मतसहित विजयी भएकी छिन् । उनको विपक्ष अर्थात् नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी मुक्ता कुमारी यादवको पक्षमा ९७ मत परेको छ ।
एकजना सांसद तटस्थ बसेका छन् । आजको मतदानमा २ सय ६४ जना सांसद सहभागी थिए । इन्दिरा राना मगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम तथा समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन थिए ।
यस्तै मुक्ता कुमारी यादवको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका थिए । सन् २०१७ मा बीबीसीको १०० प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा अटाएकी इन्दिराले देशका विभिन्न जिल्लामा कैदीबन्दीका रूपमा रहेका आमाबुवाका छोराछोरीको लालनपालन तथा शिक्षामा सहयोग गर्दै आएकी थिईन् ।
उनी आफैले सन् २००० मा स्थापना गर्नुभएको बन्दी सहायता नेपाल नामक संस्थाले त्यस्ता बालबालिकाहरुको अधिकारको लागि लड्दै आएको छ ।






