काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानुनी कानुनी उल्झनलाई पन्छाउने बताएका छन् । सोमबार गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यमान कतिपय कानुनी प्रावधानले विदेशमा रहेका नेपालीलाई अप्ठ्यारो पारिरहेको बताउँदै विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानुनी कानुनी उल्झनलाई पन्छाउने बताएका हुन् ।
उनले विदेशको भूमिमा बसेर नेपालीहरुले भोग्नु परेको समस्याका विषयलाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबको दिनमा पनि कानुनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताएका छन् । उनले भने,‘नेपालका कतिपय परम्परागत ऐन कानुन छन्, जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ, तपाईँहरूलाई विश्वस्त पार्न चाहन्छु कि, म त्यस्ता खालका पर्खाललाई भत्काउनेछु ।’
उनले विदेशमा रहेका लाखौँ नेपालीहरूको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘विदेशमा लाखौँ नेपालीहरू छन्, मैले मेरो दोस्रो कार्यकालसम्म एनआरएनएले उठाएका मागहरू सम्बोधनका लागि प्रयास गरे र अब मेरो तेस्रो इनिंग्स्मा विदेशमा बस्ने बहुसङ्ख्यक नेपालीको मन जित्छु ।’ भेटका क्रममा प्रधानमन्त्री प्रचण्डलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सङ्घको तर्फबाट ज्ञापन पत्र हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा गैर आवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष रवीना थापाले हालसम्म सङ्घले गरिआएको काम, नेपाल सरकारको तर्फबाट सम्बोधन भइआएका विषयहरू र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा सङ्घको तर्फबाट धारणा राखेकी थिइन् । यस्तै, सङ्घका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानुनी र व्यवहारिक कठिनाइबारे जानकारी गराउँदै ती कठिनाइलाई तत्काल सम्बोधन गर्न आग्रह गरेका थिए ।
यस्तै, सङ्घका अध्यक्ष कुल आचार्यले सङ्घले उठाएको गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न अनुरोध गरे । भेटका अवसरमा पूर्व अध्यक्ष, भवन भट्ट, सङ्घका संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, सङ्घका उपाध्यक्ष आर।के शर्मा, सचिव खगेन्द्र न्यौपाने, महिला सचिव राधिका गुरुङ, सहकोषाध्यक्ष नारायण सुवेदी, युवा संयोजक अब्दुल वसिद, सङ्घका पूर्व सल्लाहकार टि।बि कार्की, क्षेत्रीय उपसंयोजक, (मध्यपूर्व) अमित चाम्लिङ राई, एनसीसी रसियाका अध्यक्ष शिवमणि भुर्तेल, आजीवन सदस्य (युएसए) नारायण थापालगायतको उपस्थिति रहेको थियो ।






