काठमाण्डौ । नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले गृहमन्त्री रवी लामिछानेप्रति कटाक्ष हान्दै भाषण गरेर भ्रष्टाचार नियन्त्रण नहुने बताएका छन् । बिहीबार पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित नेपालमा भ्रष्टाचारः कारण र निवारण पुस्तकको विमोचन कार्यक्रममा अध्यक्ष नेपालले राज्यका सबै अङ्गमा उचित समन्वय नहुँदा भ्रष्टाचार बढिरहेको बताउँदै भाषण गरेर मात्रै भ्रष्टाचार नियन्त्रण नहुने बताएका हुन् ।
उनले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो रहेको बताएका हुन् । ‘प्रत्येक क्षेत्रमा भएका भ्रष्टाचारविरुद्धको सङ्कल्प भएको व्यक्तिको खाँचो छ’, उहाँले भन्नुभयो, ‘यसको नियन्त्रण गर्न भावना र सङ्कल्प हुनुपर्यो, भ्रष्टाचारमुक्त परिवेश बनाउन सक्नुपर्छ ।’ एउटा नेता र प्रधानमन्त्रीले चाहेरमात्रै यो नियन्त्रण सम्भव नभएको जिकिर गर्दै अध्यक्ष नेपालले राजनीति र प्रशासनिक निकायको माथिदेखि तलसम्म यसलाई नियन्त्रण गर्ने दृढता हुनुपर्ने बताए ।
भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई भाषणमात्र बनाउन नहुनेमा जोड दिँदै उनले स्पष्ट प्रतिबद्धता भए यसको नियन्त्रण सम्भव रहेको बताए । लोभलालच र राजनीतिक अस्थिरताका कारण भ्रष्टाचार बढेको उनको भनाइ थियो ।






