नेपालगञ्ज । लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मीले जानकी गाउँपालिकाको विकासका लागि स्थानीय सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । सोमबारबाट सुरु भएको बाँकेको जानकी गाउँपालिकाको १३ औं हिउँदे गाउँसभामा प्रमुुख अथिति समेत रहेका कुर्मीले उक्त पालिका अन्तरगत पर्ने सबै भौतिक संरचनाको विकास गर्ने बताए ।
‘यस पालिका भित्र पर्ने सबै कच्चि बाटोलाई पक्कि गराउन र अन्य भौतिक संरचनालाई पुन निमार्ण गर्न म यहाँको स्थानिय सरकारसंग सहकार्य गर्नेछु ।’ उनले भने । ‘म २०७४ सालसम्म संबिधान सभा सदस्य हुँदा निर्माण गरेका सडकहरु जीर्ण अवस्थामा पुगेको देखेको छु । र आफु प्रदेश सभामा निर्वाचित भइसकेपछि तिनै जीर्ण सडक निर्माणलाई अब प्राथमिकता दिएर काम गर्नेछु ।’
गाउँपालिकाले पनि जीर्ण अवस्थामा रहेका सडक निर्माण कार्यलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । उक्त हिउँदे गाउँसभा गाउँपालिका अध्यक्ष छब्बन खाँको सभाध्यक्षतामा बसेको थियो । गाउँसभा उद्घाटन शत्रलाई सम्बोधन गर्दै अध्यक्ष खाँले आफुहरु निर्वाचित भएर आईसकेपछि छोरी कल्याण कोषलाई कार्यान्वयनमा ल्याएको, सडक, भौतिक पुर्वाधार निर्माण जस्ता कुरालाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।
सो क्रममा गाउँपालिका अध्यक्ष खाँ र प्रवक्ता टिकानाथ यादवले प्रमुख अतिथी कुर्मी, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सिता कार्की र जिल्ला समन्वय समितिका सदस्यहरुलाई दोसल्ला र सम्मान पत्र प्रदान गरेर सम्मान गरेका थिए । सभामा प्रमुख प्रशासकीय अधिकृत डाँगीले स्वागत गरेका थिए ।
सो क्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादव लगायतले सम्बोधन गरेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार गाउँसभाले नीतिगत निर्णय पनि गर्ने भएको छ ।
सभाले गाउँ प्रहरी ऐन लगायत विभिन्न कानुनहरु समेत पारित गर्ने बताइएको छ । गाउँसभाले पत्रकार रविन्द्र घिमिरेलाई गाउँपालिकाको प्रेस सल्लाहकारमा नियुक्त गरेको प्रमुख प्रशासकीय अधिकृत डाँगीले जानकारी दिएका छन् । प्राइम टेलिभिजनमा कार्यरत छन् ।







