काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले संसद्को पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन ठिक थियो भन्दा प्रचण्ड टेबुल ठोकौँ कि नठोकौँ भनेर अलमलिएको बताए । उनले प्रचण्डको यस्तो दोधारे पुर्ण व्यवहार सामान्य नभएको टिप्पणी गरेका छन् ।
प्रचण्डको यस्तो दोधारे व्यावहारकै कारण ओली र प्रचण्डको सम्बोधनले उनीहरूका बीचमा विग्रहको बीजारोपण भएको बताए । सोमबार प्रतिनिधि सभा बैठकमा भाग लिन संसद् भवन नयाँ बानेश्वर पुगेका महामन्त्री थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
ओलीले अघिल्लो प्रतिनिधि सभा विघटनलाई प्रतिगामी भन्नेहरू नै प्रतिगामी हुन् भनेको भन्दै त्यो कुरा नै विग्रहको कारण बन्नसक्ने उनको भनाइ छ । उनले भने,‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रधानमन्त्रीलाई एउटा अवस्थामा भने बडो अफ्ठ्यारोमा पार्नुभएको मैले याद गरेँ ।
ओलीले प्रतिनिधि सभा विघटन गरेको कुरा सोह्रै आना सत्य थियो, त्यो नागरिकको पक्षमा थियो, त्यसलाई प्रतिगामी भन्नेहरू नै प्रतिगामी हुन् भन्दै गर्दा अहिलेका प्रधानमन्त्रीले टेबुल ठोकौँ कि नठोकौँ भनेर अलमलमा परेको देख्दै गर्दा मलाई अलिकति सहानुभूति प्रकट गर्न मन लाग्यो ।
यो हेर्दा सामान्य अलमल देखिए पनि यसलाई मैले सामान्य अलमल मानेको छैन । किनकि यो विषयको हल नगरिकन, यो विषयको बारेमा एक पटक पनि छलफल नगरिकन, सामान्य शुभेच्छा पनि नगरिकन दुई वटा पार्टी एक ठाउँ जोडिनुभएको छ । पहिलो बैठकमा उहाँहरूले गरेको सम्बोधनले यो विषय नै विग्रहको कारक बन्ने सङ्केत गर्छ ।’
महामन्त्री थापाले वर्तमान सरकारको स्थिरता चुनौतीको विषय भएको पनि बताए । उनले अघिल्लो पटक वर्तमान सत्तारूढ गठबन्धनले गठबन्धन जोगाउन नसकेको भन्दै यस पटक पनि गठबन्धन टिक्नेमा आशङ्का व्यक्त गरे । चुनावअघि एउटा गठबन्धन र चुनावपछि अर्को गठबन्धनको स्वरूप भएकाले पनि सरकारको स्थिरतामा चुनौती भएको उनको भनाइ छ ।






