काठमाण्डौ । नेपाल समाजबादी पार्टीले नेकपा (माओबादी केन्द्र) सँग पार्टी एकता गर्ने भएको छ । जस्का लागि वार्ता समिति बनाउने तयारी गरिने छ । नेपाल समाजबादी पार्टी (नेसपा) को राजनीतिक समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज आइतबारदेखि सुरु भएको छ ।
बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गरेका छन् । डा. भट्टराईद्धारा पेस गरिएको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको नेसपाका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले बताईन् ।
सह–अध्यक्ष श्रेष्ठले बैठकले माओबादीसँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने बताईन् । त्यो समितिलाई माओबादी केन्द्रलगायतका अन्य पार्टीहरूसँग पनि एकता तथा ध्रुवीकरण गर्नका लागि छलफल र प्रयास गर्न अधिकार दिइने उनको भनाइ छ ।
अध्यक्ष भट्टराईद्धारा पेस गरिएको राजनीतिक प्रतिवेदनलाई पाँच खण्डमा विभाजन गरिएको छ । प्रारम्भ, पार्टी निर्माणका सात वर्ष एक सिंहावलोकन, सङ्घ र प्रदेशको निर्वाचन २०७९ संक्षिप्त समीक्षा, समाजवादी ध्रुवीकरण आजको आवश्यकता र आगामी कार्ययोजना गरी पाँच खण्डमा विभाजन गरिएको हो ।






