बाँके, नेपालगञ्ज । लायन्सका पूर्व गर्भनर लायन शेम शाक्यले महिलाहरुले आफू भित्रको समस्या लुकाएर राख्ने प्रवृतीका कारण समयमा उपचार नहुने र अनेकौ स्वास्थ्य समस्याको सामना गर्नु परेको बताए । शनिबार लायन्सका संस्थापक मेल्बिन जोन्सको १ सय ४४ औ जन्मोत्सवको अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.२ पुरैनीमा सम्पन्न पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रममा पुर्व गर्भनर शाक्यले आफ्नो स्वास्थ्यलाई भन्दा लाजलाई प्राथामिकतामा रोखेर महिलाहरुले आफ्ना स्वास्थय समस्या लुकाउने बताएका हुन् ।
कार्यक्रमको विशिष्ट अतिथी समेत रहेका शाक्यले पाठेघरको मुखको क्यान्सर परिक्षणमा सम्पूर्ण महिलाहरुले सहभागिता जनाएर यो अवसरको सद्उपयोग गर्दै खुलेर आफ्ना समस्या राख्न आग्रह गरेका थिए । त्यस्तै वडा नं. २२ का वडा अध्यक्ष अब्दुल गफार हलवाईले लायन्स क्लबले महिलाहरुको एकदमै जटिल समस्यालाई सम्बोधन गर्दै आफ्नो वडामा कार्यक्रमको आयोजना गरेकोमा आभार व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष मेल्बिन जोन्स डे सेलिब्रेसनका संयोजक लायन साबित्रा बस्नेतले वडाका सम्पूर्ण महिलाहरुले पाठेघरको मुखको क्यान्सर परिक्षणमा सहभागी भएर समयमा नै आफूभित्रको रोग पत्ता लगाएर उपचार गर्न अग्रसर हुन अनुरोध गरेका थिए । त्यसैगरी सोही अवसरमा लायन्स क्लब अफ नेपालगनज पिएनएलफले मानव सेवा आश्रमका ५० जनालाई ज्याकेट (न्यानो लुगा) वितरण गरेको छ भने लायन्स कल्ब अफ नेपालगन्ज, सिनर्जी,
रोल्पा र न्युरोडले संयुक्त रुपमा बैजनाथ गाउपालिका ७ पेडारीका १३ जना अपांगता भएका बालबालिका र भवानी मावि बढैयाताल सिमरा ३ का ३५ जना बौद्धिक अपांगता भएकाहरुलाई न्यानो लुगा वितरण गरेको छ र लायन्स क्लब आफ नेपालगन्ज वाटरपार्कले कारकाँदोमा रहेको सुस्त मनस्थित भएकाहरु २५ जनालाई ट्रयाक सुट वितरण गरेको छ । लायन्स क्लब आफ भेरीका अध्यक्ष सुषमा सुवेदीले स्वागत गरेको कार्यक्रममा पूर्व गर्भनर लायन मधुसुदन शर्मा,
एक्ज्युटिभ चिफ लायन शशी स्वाँर, डिस्टिक्ट को चिफ लायन सरिता शाक्य, लायन साबित्रा शर्मा, डिस्टिक्ट एडभाईजर लायन उमा थापामगरलगायतको उपस्थित रहेको थियो । पाठेघरको मुखको क्यन्सरको परिक्षण डा फरहद बानो र डा नम्रता भटटराईले गर्नुभएको थियो भने चेकजाँचको क्रममा कतिपय महिलाहरुको पाठेघरमा ट्युमरको केस देखिएको हुँदा थप उपचारकोलागि सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रिफर समेत गरिएको छ । साप्ताहिक कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ नेपालगन्ज भेरीले आयोजना गरेको परिक्षणमा पुरैनीका ७६ जना महिलाले सेवा लिएका छन् ।






