काठमाण्डौ । गृहमन्त्री रवि लामिछानेले आकस्मिक अवस्थामा बाहेक साइरन बजाएर नागरिकलाई उछिन्दै नहिँड्ने बताएका छन् । उनले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले लेखेका छन्,‘साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिको म सधैँ आलोचक हुँ, आकस्मिक अवस्थामा बाहेक मबाट यस्तो गतिविधि हुँदैन ।’
गृहमन्त्री लामिछानेले गृह प्रशासन नागरिकलाई सुरक्षित महसुस हुने वातावरण निर्माण गर्ने निकाय भएको बताउँदै आफू यसको नेतृत्वमा रहँदा आफूमात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकको अपेक्षा पूरा नहुने बताएका छन् । आफ्नोभन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न आफू यो जिम्मेवारीमा आएको र आफूले बोलेका कुरा इमानदारिताका साथ पूरा गर्ने उहाँले प्रतिबद्धता पनि गरेका छन् ।
आफू उपप्रधान एवम् गृहमन्त्रीमा नियुक्ति भएलगत्तै आफ्नो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरीक्षक ९सई० को नेतृत्व सुरक्षाकर्मी राखेको लामिछानेले बताएका छन् । उनले आफ्नो सवारीका क्रममा रहने अगुवा(पछुवा सुरक्षाकर्मीसहितको गाडी हटाएर आजैदेखि अगाडि एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको उनले भनेका छन् ।
गृहमन्त्री लामिछानेले आफू सडक नियमको पूर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागू गराउने निकायको नेतृत्व गर्ने भन्दै सधैँ ट्राफिक बत्तीमा लाइन बसेर नै यात्रा गर्ने सडक लेन अनुशासन पूर्ण पालना गर्ने प्रतिबद्धा पनि जनाएका छन् । व्यक्तिगत कामका लागि कतै जानुपरेमा वा बिदाका दिनमा आफ्नै गाडी प्रयोग गर्ने र यदि कुनै अवस्थामा सरकारी गाडी प्रयोग गर्नुपरेमा त्यसको हिसाब राज्यलाई बुझाउने उनले बताए ।






