बाँके । राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय, कौशिलानगर बाँकेमा सि.सं.४८ जुनियर डिभिजन एनसिसि तालिमको वार्षिक सामुहिक क्याम्प (दोश्रो चरण) का विद्यार्थिहरु दिक्षित भएका छन् । राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय आज शुक्रबार आयोजित दीक्षान्त कवाज समारोहमा १४ जिल्लाका ५३२ जना विद्यार्थी दिक्षित भएका हुन् ।
विभिन्न १४ जिल्लाका १५ वटा विद्यालयका ५३२ जना विद्यार्थीहरु गएको पुष ७ गतेदेखि सहभागि भएका थिए । यसवर्षको पहिलो चरणको एनसिसि जुनियर डिभिजन तालिम मंसिर १८ गतेदेखि पुष ४ गतेसम्म चलेको थियो । उक्त तालिममा ५३७ जना विद्यार्थी सहभागी भइ दिक्षित भइसकेका छन् । उक्त दीक्षान्त कवाज समारोहमा नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राणाल दिक्षित विद्यार्थीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।
त्यसक्रममा उनले युवा वर्गलाई अनुशाशित, नेतृत्व क्षमताको विकास, वफादारिता तथा ईमान्दारिता, राष्ट्रिय एकता भावना, विकास तथा विपद् उद्दार कार्यमा दक्ष स्वयसेवकका रुपमा अडिक रहन दिक्षित विद्यार्थीलाई सुझाव दिनुभयो । उहाँले अनुशासनले मात्रै राष्ट्रिय एकता कायम हुने बताए । उक्त तालिममा सर्वोत्कृष्ट क्याडेट छात्र तर्फ श्री नेपाल राष्ट्रिय मा.बि कपिलवस्तुका क्याडेट दिपेश कुमार थारु, तथा सर्वोत्कृष्ट क्याडेट छात्रा तर्फ
श्री त्रिपुरा मा.बि डोल्पाका क्याडेट बिनिता श्रेष्ठ र बाजुरा जिल्ला स्थित श्री क्रियटर जोन एकेडेमी से।मु।उत्कृष्ट हुन सफल हुनुभएको थियो । उत्कृष्ट विद्यार्थीलाई नेपाली सेनाका बलाधिकृत रथी राणाले पुरष्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । दीक्षान्त कवाज समारोहमा श्री उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी हिरालाल जोशी, श्री नं.४ बाहिनी अड्डाका बाहिनीपति उत्तम कुमार विष्ट, कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य,
तालिम केन्द्र नेपालगन्जका एसएसपी चक्रबहादुर बम, नेपालगन्जका उद्यमी मख्खन धामी, विएफविएस गोर्खाज रेडियोका संवाददाता प्रियास्मृति ढकाल, सहित अन्य सुरक्षा निकायका प्रमुख, बांँके जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख लगायतको उपस्थिति रहेको थियो । दिक्षित भएर जानु अघि हिंजो साँझ विद्यार्थीहरुले आआफ्नो भेषभुषा, भाषा संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।






