काठमाण्डौ । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजदीले वामपन्थी शक्तिहरुसँगको एकता प्रक्रियालाई तीव्रता दिने भएको छ । मंगलबार सम्पन्न सो पार्टीको पोलिटब्युरो बैठकले वामपन्थी एकता, सहकार्य र मोर्चा निर्माणबारे ठोस पहलकदमी गर्न पार्टी केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
सो पार्टी सरकारबारे भने अनिर्णयको बन्दी बनेको छ । ४ दिनसम्म बसेको स्थायी समिति र पोलिटब्युरो बैठठकले सरकारबारे कुनै धारणा बनाउन नसकेको हो । बरु उसले अनिर्णयको बन्दी बन्दै जिम्मेवारी सचिवालयलाई पञ्छाएको छ । समाजबादीले जनता समाजबादी पार्टी (जसपा) देखि अन्य राजनीतिक दल र समूहसँग वार्ता र संवाद गर्दै एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
‘हामी वामपन्थी धारमा रहेका सबैलाई एकताबद्ध बनाएर हाम्रो नेतृत्वमा अघि बढाउने प्रयासमा छौँ, जसपामात्रै होइन अरू दलहरू पनि हुन सक्छन्’, खतिवडाको भनाइ छ । उनले एमाले, माओवादीका साथै अरू वामपन्थी व्यक्ति र साना समूहहरूसँग समेत एकता गरिने भन्दै सवैसँग छलफल र कुराकानी गर्ने बताए । ‘व्यक्ति वा साना समूह पनि हुन सक्छन्, अव हामी यो दिशामा अघि बढ्छौ’, खतिवडाको भनाइ छ ।
केही समयअघि एमाले छाडेका वामपन्थी नेता घनश्याम भुसाललगायतका नेताहरूसँग पनि छलफल गरेको थियो । तर भुसालसँग छलफल भएपनि उनले समाजवादी प्रवेश गर्ने नगर्ने निर्णय गरिनसकेको जनाएको छ । बैठकमा १२० भन्दा बढी केन्द्रीय सदस्यहरु भोट हाल्न नगएको र उनीहरूलाई कारबाही गर्नुपर्छ भनेर आवाज उठेपनि त्यसको तथ्य र रेकर्ड नभएको प्रचार विभाग प्रमुख खतिवडाले बताए ।
‘यो पुष्टि हुने तथ्य र रेकर्ड हामीसँग छैन’, खतिवडाको भनाइ छ । तर पोलिटब्युरो बैठकमा सचिव रामकुमारी झाँक्री र नेता मुकुन्द न्यौपानेले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए । त्यसक्रममा उनीहरुले १२० भन्दा बढी केन्द्रीय सदस्य नै गत निर्वाचनमा भोट हाल्न नगएकाले उनीहरुमाथि छानबिन हुनुपर्ने धारणा राखेका थिए ।
एकीकृत समाजबादीले वर्तमान सरकारप्रति मौन बस्ने नीति लिएको छ । उसले आफ्नो पार्टीलाई सरकारमा आउन र समर्थन गर्न अहिलेसम्म कुनै प्रस्ताव नआएको भन्दै मौन बस्ने नीति लिएको हो । यदि प्रस्ताव आएपनि उसका प्रस्ताव हेरेर मात्रै सरकारमा जाने नजाने र समर्थन गर्ने नगर्नेबारे निर्णय गर्ने समाजवादीको तयारी छ । ‘प्रस्ताव आएपनि प्रस्ताव हेरेर, उसले गर्नसक्ने सम्भावना र एजेण्डा हेरेरमात्रै निर्णय हुन्छ ।’
खतिवडाले भने, ‘सरकार आज आफै बहुमतमा छ । उसले हामीसँग छलफल परामर्श गर्नुपर्छ नै भन्ने पनि छैन ।’ समाजबादीले सरकारबारे पार्टीमा औपचारिक रूपमा छलफल गर्ने कुरा नै नभएकाले बैठकमा त्यसबारे प्रवेश गर्ने नपरेको जनाएको छ । समाजबादीले वामपन्थी एकता, सहकार्य वा मोर्चाबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ । मंगलबार सकिएको बैठकले वामपन्थी एकता र सहकार्यका लागि सधैभरी प्रतिबद्ध रहेको भन्दै त्यसको गृहकार्य गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको हो ।
‘हाम्रो पार्टी वामपन्थी एकता, सहकार्य र वा मोर्चा बनाउनुपर्छ भन्नेमा हिजो पनि थियो आज पनि छ र भोलि पनि रहन्छ । त्यसका लागि केन्द्रीय सचिवालयलाई अनुमति प्रदान गरेको छ’, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै नयाँ समीकरणपछि बनेको प्रचण्ड नेतृत्वको सरकारबारेको दृष्टिकोण बनाउने जिम्मा पनि पोलिटब्युरोले सचिवालयलाई नै दिएको छ ।
‘नयाँ गठबन्धन सरकारका बारेमा थप आवश्यक अध्ययन, छलफल गर्नुपर्ने छ । ‘यसले जनताका लागि के कस्ता योजना र कार्यक्रम ल्याउँछ त्यसका आधारमा यसबारे अन्तिम निर्णय गर्ने अधिकार पनि केन्द्रीय सचिवालयलाई प्रदान गरेको छ ।’ बैठकका निर्णय सुनाउँदै नेता खतिवडाले जानकारी दिए ।
नेकपा एकीकृत समाजबादीले सरकारमा जाने नजाने र समर्थन गर्ने नगर्ने भन्ने बारेमा अन्य राजनीतिक दल र उनीहरूका गतिविधि हेरेर निष्कर्ष निकाल्ने भएको छ ।






