काठमाण्डौ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देश उन्नती तर्फ जानुको साटो दुर्गती तर्फ गईरहेको बताएका छन् । वर्तमान अवस्थामा पनि देशले विकास गर्न नसक्नुको कारण नेपाली कांग्रेसको एक्लौटे नीति र औधोगीक क्षेत्रमा ल्याएको नीजीकरण भएको बताएका छन् । आज मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताएका हुन् ।
नेता गौतमले विगतमा नेपाली कांग्रेसको सरकारले सरकारी उद्योग, कारखाना निजीकरण गर्दा अहिले समस्या भएको आरोप लगाए । उनले भने,‘यो सबै समस्याको जड नै नेपाली कांग्रेसको एक्लो नीति र औधोगीक क्षेत्रमा ल्याएको नीजीकरण हो ।’ नेपाली कांग्रेस नेतृत्वको सरकारले विगतमा सरकारी उद्योगलाई अफ्ठ्यारो पार्ने र निजीकरण गर्ने काम गरेको गौतमको भनाई थियो ।
नेपालको तुलनामा अन्य कैयौं देशहरु गरीबीको चपेटामा परेको बताउँदै हाल ती देशहरुले सामान आयात भन्दा निर्यात गरेर आफ्नो देशको आर्थिक अवस्थालाई सुधारोन्मुख बनाईसकेको भन्दै नेपाल भने विकासको गतिमा झनझन सुस्त हुँदै गईरहेको बताए । उनले सामान्य धागोदेखि खाद्यवस्तुहरु समेत विदेशबाट आयात गर्नु परिरहंदा सबै कुरामा अर्कासंग परनिर्भर हुने अवस्थाको अन्त्य नभएको हुनाले देश गरीब भएको टिप्पणी गरे । यस विषयमा वर्तमान सरकारले स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
वर्तमान सरकारले देशभित्र नै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताए । उनले नेपालमा खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकाले देश गरिब भएको भन्दै चिन्ता व्यक्त गरे । सांसद गौतमले खाद्यान्न, फलफूल, औषधिलगायतको उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्न सके देशभित्र नै रोजगारी सिर्जना हुने बताए ।






