काठमाण्डौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभा कक्षमा आपतकालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन् । आज सोमबार गृह मन्त्रालयमा बसेको २५ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले भूकम्पीय जोखिम न्यूनीकरण आफैँबाट सुरुवात गर्नुपर्ने भन्दै यस्तो निर्देशन दिएका हुन् ।
उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माणसम्बन्धी मापदण्ड पालना गराउने काममा कडाइ गर्न पनि पालिकाहरूलाई आग्रह गरे । भवन निर्माणसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन सके भूकम्पीय जोखिम न्यूनीकरणका लागि धेरै ठूलो योगदान पुर्याउन सकिने उनको भनाइ थियो ।
उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विद्यालय, कलेज, पार्टी प्यालेस, सभा हलको निर्माणमा ध्यान दिन पनि सचेत गराए । उनले भने,‘भवनको नक्सा पास गर्दादेखि निर्माण सम्पन्न भएको सर्टिफाई गरुन्जेलसम्म भूकम्पीय जोखिम न्यूनीकरण मापदण्डअनुसार काम भयो कि भएन भनेर हेर्न सकियो भने प्रभावकारी हुनसक्छ ।
मापदण्डअनुसार भवन निर्माण भए कि भएनन् भनेर हेरेर, जाँचेर, बुझेर सर्टिफाई गर्न सक्यौँ भने भूकम्पीय जोखिम न्यूनीकरणमा धेरै ठूलो भूमिका हुन्छ । धेरै वर्ष बितिसकेका भवनहरू कुन अवस्थामा छन् ? त्यसलाई पनि हेर्न सकियो र भएका ऐन, नियममा संशोधन गर्नुपर्ने अवस्था आएको छ भने, सच्याउनुपर्ने अवस्था आयो भने, मिलाउनुपर्ने अवस्था आयो भने पनि त्यसमा निरन्तर छलफल गर्न सक्यौँ भने प्रभावकारी हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’
उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणको कामलाई प्रभावकारी बनाउन सूचना र प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने आवश्यकता समेत औँल्याए । बैठकमा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सबै पालिकाले भवन निर्माण आचारसंहिता लागू गर्नुपर्ने बताए । उनले ललितपुर महानगरपालिकाले यो आचारसंहिताको पालनामा कडाइ गरेका कारण २०७२ सालको भूकम्पमा अन्य ठाउँमा भन्दा कम जनधनको क्षति भएको उनको भनाइ थियो ।






