रुपनी जि.एम, बाँके । नेकपा माओबादी केन्द्रका तर्फबाट प्रत्यक्ष रुपमा निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना) ले दोश्रो पटक पद तथा गोपनीयताको शपथ लिएकी छन् । आज आइतबार लुम्बिनी प्रदेशको राजधानी दांगको भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले दोश्रो पटक पद तथा गोपनीयताको शपथ लिएकी हुन् । शपथ लिएसंगै हिमालय न्यूूजसंग कुरा गर्दै पद्रेश सदस्य नमुनाले आफुुलाई सामाजिक विकासकालागि प्रत्यक्ष रुपमा काम गर्न सकिने मन्त्रालयमा रहेर काम गर्ने ईच्छा भएको बताईन् ।
यस अघि नमुना वि.सं. २०७४ सालको निर्वाचनमा पनि प्रत्यक्ष चुनाव लडेर निर्वाचित सांसद बनेकी थिईन् । यो भन्दा पहिला सांसद हुँदै गर्दा अपुरा रहेका कामहरुलाई पुुरा गर्नका लागि मन्त्री भएर काम गर्न इच्छुक भएको उनले बताईन् । ‘मेरो पहिलो कार्यकालमा मैले कुनैपनि लाभको पद लिईन । र मैले सकेको आफ्नो निर्वाचन क्षेत्रको विकास गर्न तिर लागें । तर अहिले मन्त्री बन्ने ईच्छा स्वभाविकै हो ।’ उनले भनिन्,‘मलाई यही नै मन्त्रालय दिनै पर्छ भन्दिन । जुन मन्त्रालय दिएपनि म काम गर्न सक्छुु तर विशेष गरी प्रत्यक्ष रुपमा विकास निमार्ण र जनतासंग जोडिएर काम गर्ने मन्त्रालय पाए उपयुक्त हुने थियो ।’ उनले भनिन् ।
मन्त्री हुने लाईनमा रहेकी नमुनाले आफ्नो निर्वाचन क्षेत्रमा योभन्दा पहिला सांसद हुँदा पास गराएका योजनालाई कार्यान्वयन गराउने बतताईन् । उनले विशेष गरेर बाँकेको नरैनापुरको पुर्वी नहरको सिंचाई, सुख्खा लागेर सञ्चालन गरिएको डिप बोरिंग सञ्चालन, कोहलपुरको चप्परगौरीदेखि दांगको शिव खोलासम्मको टिलिफोन टावर स्थापना, कृषिको उचित बजारीकरण, युवाहरु स्वरोजगार कार्यक्रम, महिला सशक्तिकरण, छात्राहरुको विद्यालय सञ्चालन लगाएतका विषयलाई पुर्णता दिने उनले बताईन् ।
प्रदेश प्रमुख अमिक शेरचनद्धारा नवनिर्वाचित सदस्यलाई शपथ गराईएको थियो । प्रतिनिधि सभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराइ ज्येष्ठ सदस्यले प्रदेश सभा सदस्यलाई शपथ गराउने चलन रहे पनि लुम्बिनीमा भने प्रदेश प्रमुखले नै शपथ गराउने गरिएको छ । लुम्बिनी प्रदेश सभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गरेका थिए ।
प्रदेश प्रमुख शेरचनले ६९ वर्षीय भुसाललाई यससम्बन्धी जिम्मेवारी पत्र प्रदान गरेका थिए । भुसाल नेकपा एमालेबाट गुल्मी २ ९क० बाट निर्वाचित भएका थिए । प्रदेश सभाको पहिलो बैठक भोलि सोमबार दिउँसो १ बजे बस्नेछ । प्रदेश सभाका सदस्यहरु ८७ जना रहेका छन् ।






