भालुवाङ । लुम्बिनी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज आइतबार लुम्बिनी प्रदेशको राजधानी दांगको भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ लिएका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनिर्वाचित सदस्यलाई शपथ गराएका हुन् ।
प्रतिनिधि सभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराइ ज्येष्ठ सदस्यले प्रदेश सभा सदस्यलाई शपथ गराउने चलन रहे पनि लुम्बिनीमा भने प्रदेश प्रमुखले नै शपथ गराउने गरिएको छ । लुम्बिनी प्रदेश सभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गरेका थिए ।
प्रदेश प्रमुख शेरचनले ६९ वर्षीय भुसाललाई यससम्बन्धी जिम्मेवारी पत्र प्रदान गरेका थिए । भुसाल नेकपा एमालेबाट गुल्मी २ (क) बाट निर्वाचित भएका थिए । प्रदेश सभाको पहिलो बैठक भोलि सोमबार दिउँसो १ बजे बस्नेछ । प्रदेश सभाका सदस्यहरु ८७ जना रहेका छन् ।






