काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष सन् २०२३ को उपलक्ष्यमा शुभकामना दिँदै उ नले नयाँ वर्षको आगमनसँगै देश राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै नागरिकका सबै आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनुदित गर्न चाहेको बताए ।
उनको सन्देशमा भनिएको छ,‘हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त गरिबीरहित, सुशासित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिमा अघि बढाउन चाहन्छौँ ।’
समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आ–आफ्ना ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल र पक्षहरूसँग आग्रह गरेका छन् ।






