काठमाण्डौ । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल नचल्ने नियम तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई निर्देशन दिएका हुन् ।
प्राधिकरणले आजदेखि एमडीएमएसमा दर्ता नभएका मोबाइललाई नेटवर्क प्रयोग गर्न नमिल्ने नियम लागू गर्ने बताएको थियो । प्राधिकरणले विगत एक हप्ताअघि सूचना निकालेर दर्ताबिनाका कुनै पनि मोबाइल पुस १५ देखि नचल्ने बताएको थियो ।
विदेशबाट मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाइरहेका थिए। उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने अभियान चलाए पछि प्रधानमन्त्रीको ध्यानाकर्षण भएको हो ।
जनस्तरबाट व्यापक विरोध र विदेशबाट नो रेमिटेन्सको ह्यासट्याग अभियान नै सुरु भएपछि प्रधानमन्त्री दाहालले तत्कालका लागि एमडीएमएस प्रणाली लागू नगर्न प्राधिकरणलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएलगत्तै प्राधिकरणले तत्कालका लागि एमडीएमएस प्रणाली कार्यान्वयन रोक लगाएको छ ।






