काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा सरेका छन् । आज बिहीबार दिउँसो पूजापाठ गरेर गृहमन्त्री लामिछाने पत्निसहित सरकारी निवास पुल्चोक सरेका हुन् । मन्त्री लामिछानेले सरकारी निवासमा झन्डोत्तोलन गरेका छन् ।
उनलाई नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेको थियो । सलामी लिने क्रममा पिर्का र रातो कपडा भने राखिएको थिएन । यसअघि पिर्के सलामी लिने गरेको भन्दै आलोचना हुँदै आएको थियो । आफु टेलिभिजन पत्रकार भई रहंदा अन्य मन्त्रीहरुलाई पिर्के सलामी लिएको भन्दै व्यंग्य हानेको हुनाले पनि हुनसक्छ उनले पिर्के सलामी लिन नमानेको श्रोतको भनाई छ ।
उच्च श्रोतका अनुसार मन्त्री लामिछानेले पिर्के सलामी र रातो कपडाको व्यवस्था नगर्नु भन्ने आदेश दिएका थिए । मन्त्री लामिछानेको यस्तो आदेशको चौर्तफि रुपमा चर्चा हुनुका साथै आलोचना पनि उत्तिकै भईरहेको छ । कतिपय विश्लेषकहरुले त रवीलाई एकैचोटी यत्ति ठूलो मन्त्रालय दिनु नै गलत भएको टिप्पणी समेत गरेका छन् ।






