रुकुम पश्चिम, सुनसरीै । वैदशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका १३ जना युवा अलपत्र परेका छन् । कम्पनीले कामबाट निकालेपछि आफूहरू एक महिनादेखि एउटा कोठामा थुनिएर बसेको उनीहरूले बताएका छन् । रुकुम पश्चिमका चार जना र सुनसरीका नौ जना युवा मलेसियाको निलाई ७ मा अलपत्र परेका हुन् । उनीहरू वैदेशिक रोजगारीका लागि गएको कात्तिकमा मलेसिया पुगेका थिए ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ४ का इन्द्रबहादुर ओली र टीकाराम भण्डारी, वडा नम्बर ११ का टेकबहादुर केसी र सुनील शाहसँगै सुनसरीको बराहक्षेत्र नगरपालिकाका सन्देश राई, दीपकचन्द्र बंशी, देवनारायण यादव, भरतप्रसाद यादव, सन्तोष यादव कामविहीन अवस्थामा रहेका छन् । त्यसैगरी सुनसरीकै कोशी गाउँपालिकाका विवेक कुमार मण्डल, हरिनगरा गाउँपालिकाका सुधीरकुमार पाल, कुन्दनकुमार पाल र दीपेन्द्रकुमार पाल अलपत्र परेको हुन् ।
उनीहरू रुकुम पश्चिमका यज्ञबहादुर बटाला, सुनसरीका शम्भु मण्डल र विष्णु घिमिरे एजेन्टमार्फत ग्लोबल रिक्रुटमेन्ट प्रा।लि। नामक म्यानपावरको सम्पर्कमा गएका थिए । यही म्यानपावरले आफूहरूलाई एचआर त्रिवेणी म्यानपावरबाट भिसा लगाएर मलेसियामा क्लिनरको काम गर्ने भन्दै पठाएको पीडितले जनाएका छन् । ग्लोबल म्यानपावरका हरि क्षेत्रीले आफूहरूलाई कामको ब्रिफिङ गर्दा सजिलो काम र धेरै पैसा आउने भन्दै आश्वासन दिलाएको उनीहरूले बताएका छन् ।
तर उता जाँदा जङ्गलको अप्ठ्यारो काममा लगाएको पीडितले गुनासो गरेका छन् । मलेसियामा आफूहरु अलपत्र अवस्थामा रहेको बताउँदै इन्द्रबहादुर ओलीले उद्धारका लागि अपिल गरेका छन् । असाध्यै अप्ठ्यारो अवस्थाको काममा लगाएपछि आफूहरू काम गर्न नसक्ने अवस्थामा पुगेको उनले बताए । आफूलाई नेपालको कम्पनीले झुक्याएर सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाएको कुरा मलेसिया पुगेर मात्र थाह भएको उनको भनाइ छ ।
सम्झौताअनुसारको काममा लगाइ पाउँ भन्दा कम्पनीले हामीलाई निकालिदियो, कसरी बाँच्ने हो ? हामीलाई समस्या भयो’, मलेसियाबाट सुनसरीका सन्देश राईले गुहार गर्दै भन्नुभयो, ‘हामीलाई कि काम गर्ने कि घर पुग्ने वातावरण मिलाइ दिनुपर्यो ।’ पीडितका अनुसार कम्पनीले विमानस्थल पुगेको बेला भिसा, टिकट र पासपोर्ट एकैसाथ दिएको थियो । अङ्ग्रेजीमा भएकोले आफूहरूले कामको बारेमा पढ्न नसकेको तर मलेसिया पुग्दा भनिएको काम भन्दा फरक रहेको थाहा भएको उनीहरूको भनाइ छ ।
ईलाईट ह्युमन रिसोर्स कम्पनीले ग्लोबल इन्टरनेशनल म्यानपावरमार्फत मलेसियाको नेगिरी सिम्बिलिन भन्ने ठाउँमा रहेको पिआरएस फरेस्ट म्यानेजमेन्ट कम्पनीमा उनीहरूलाई पठाएको बुझिएको छ । आफूहरू नेपालबाट आउँदा जनही दुई लाख ६० हजारदेखि दुई लाख ८० हजार रुपैयाँसम्म तिरेर आएको उनीहरूले बताएका छन् । अब नेपाल फर्काइदेउ भन्दा कम्पनीले उल्टै पैसा माग्ने गरेको उनीहरूको गुनासो छ ।
म्यानपावर कम्पनीका एजेन्ट सुनसरीका विष्णु घिमिरेले आफूहरूमार्फत मलेसिया पुगेर अलपत्र परेका भनिएका युवालाई कि काममा लगाउन कि नेपाल फर्काउन लगातार दबाब दिइरहेको बताए । उनले कम्पनीलाई तुरुन्त भनेअनुसारको काममा लगाउन अल्टिमेटम दिएको उल्लेख गरे । काममा नलगाएमा भोलिबाटै नेपाल फर्काउन थालिने उनले उल्लेख गरे । यो समाचार उज्यालोमा छ ।






