काठमाण्डौ । नेकपा माओबादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । केहीबेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाले प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका छन् । सरकारमा पार्टीको भूमिका तथा पार्टीबाट मन्त्री बन्नेहरुको बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनले आज शपथ लिने कार्यक्रम छ । नेकपा माओवादी केन्द्रबाट पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भएका छन् । पहिलो चरणको मन्त्रिमण्डलमा श्रेष्ठ उपप्रधानमन्त्रीसहित सहभागी हुने नेता हरिबोल गजुरेलले बताए ।
श्रेष्ठको मन्त्रालय भने पछि टुङ्गो लाग्ने गजुरेलको भनाई छ । श्रेष्ठ हाल राष्ट्रिय सभाका सदस्य रहेका छन् । श्रेष्ठले यसअघि परराष्ट्र मन्त्रालय सम्हालिसकेका छन् । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न प्रधानमन्त्रीको शपथ लिँदैछन् । आज नै सानो आकारको मन्त्रिमण्डल बनाउने प्रचण्डको तयारी छ । मन्त्रालयको विषयमा टुङ्गो लगाउन शपथ अघि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।






