काठमाण्डौ । वि.सं. २०६५ र २०७३ मा ९, ९ महिनाको अवधि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल (प्रचण्ड) फेरी अहिले नवनियुक्त प्रधानमन्त्री बनेका छन् । उनको शपथ ग्रहण आज हुने भएको छ । आज दिउँसो ४ बजे शपथ ग्रहण कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी अध्यक्ष प्रचण्डलाई हिजो प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रतिनिधि सभा चुनावमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को २ अनुसार मिलीजुली सरकार बनाउन हिजो बेलुकी ५ बजेसम्मको समय दिएकी थिईन् ।
राष्ट्रपतिले दिएको समयभित्र प्रचण्डले १ सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । प्रचण्डलाई माओबादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजबादी पार्टी नेपाल (जसपा), जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी तथा स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहको समर्थन छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सरकार गठनका लागि १ सय ३८ सांसद आवश्यक पर्नेमा प्रचण्डलाई १ सय ६९ सांसदको समर्थन रहेको छ ।कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन भत्किएपछि एमाले, माओबादीलगायतको नयाँ गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
एमाले र माओबादी केन्द्रबीच आधाआधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति भएको छ । यसअनुसार पहिलो साढे दुई वर्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् भने साढे दुई वर्षपछि एमालेले प्रधानमन्त्री लिने सहमति भएको छ । प्रधानमन्त्रीमा प्रचण्डको यो तेस्रो कार्यकाल हो ।






