रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेको बताएकी छन् । आज बिहीबार बुटवलमा १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन् । उनले एकातिर व्यापार घाटा निरन्तर बढिरहेको र अर्कोतिर आयातमाथि निर्भरता विस्तार भइरहेको भन्दै चिन्ता समेत व्यक्त गरीन् ।
राष्ट्रपति भण्डारीले आयातमाथि निर्भरता विस्तार हुँदा विदेशी मुद्राको सञ्चितिमा चाप बढेको बताईन् । उनले चुनौतीहरूबाट पार पाउन स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मूलभूत उद्देश्य बनाउनुपर्नेमा जोड दिईन् । उनले भनिन्,‘देको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उपार्जन बढाउन, वन पैदावर र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने, पर्यटन प्रवर्द्धन तथा जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरू अवलम्बन गर्नु अति आवश्यक भएको पनि छ ।’
राष्ट्रपति भण्डारीले किसान र उद्योगीले राज्यको सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिईन् । राष्ट्रपति भण्डारीले देशको पर्यटन उद्योगलाई थप सुदृढ गर्नका लागि लुम्बिनीको भ्रमणसँगै अन्य ठाउँको खोजी गर्न आवश्यक रहेको बताईन् ।






