काठमाण्डौ । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी हुनु भएको छ । बिहान भएको चुनावमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याउनुभयो भने महामन्त्री गगन थापाले २५ मत पाएका छन् ।
कांग्रेसका सबै ८९ सांसदले नै मतदान गरेका थिए । दलको नेता हुँदै पाँचपटक प्रधानमन्त्री बनिसकेका देउवासँग थापाले पहिलोपटक दलको नेतामा प्रतिस्पर्धामा गरेका थिए । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेकाले चुनावलाई महत्वका साथ लिइएको छ ।
वि. सं २०५१ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सारेका थिए । दलको नेता भएकै कारण देउवा ४९ वर्षको उमेरमै प्रधानमन्त्री बनेका थिए ।






