काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न आवश्यक नभएको बताए । आज मङ्गलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुग्नुभएका उपसभापति खड्काले यस्तो बताएका हुन् ।
उनले कांग्रेस, माओबादी, एकीकृत समाजबादी, नेकपा एमाले सहितलाई जोडेर सहमतिबाट सरकार निर्माण गर्नका लागि प्रधानमन्त्री देउवा नै अहिलेको उचित विकल्प भएको बताए । प्रतिपक्ष एमालेलाई समेत साथमा लिएर जाने क्षमता, अनुभव प्रधानमन्त्री देउवासँग मात्रै रहेको भन्दै अहिलेको अवस्थामा नेतृत्वमा देउवाको विकल्प खोज्न नहुने उनको भनाइ छ ।
उपसभापति खड्काले आउँदा दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन स्वतः हुँदै जाने बताउँदै संसदीय दलको नेतामा सभापति देउवालाई जिताउन पनि युवा सांसदसँग आग्रह गरे । उपसभापति खड्काले अहिलेको गठबन्धन निरन्तर अघि बढ्ने र गठबन्धनकै नेतृत्वमा सरकार बन्ने ठोकुवा समेत गरे ।






