काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा जाने पक्षमा नरहेको बताएका छन् । सत्तारूढ गठबन्धनले सरकार गठबन्धनका लागि अनुचित, अपवित्र र फोहोरी उद्देश्य, अभ्यास गरिरहेको भन्दै आफ्नो पार्टी त्यसको विरुद्धमा रहेको उनले बताए । आज मङ्गलबार पार्टीले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टी सत्तामा रहे पनि, प्रतिपक्षमा रहे पनि राष्ट्र र नागरिकको हितमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
देश र नागरिकका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्नका लागि सत्तारूढ दलहरू सरकार बनाउने खेलमा लागिपरेकाले त्यसमा आफ्नो पार्टी सामेल हुन नचाहेको उनको भनाइ छ । उनले भने,‘सरकार के का लागि भन्ने हामीले सुनिराख्या छैनौँ । को प्रधानमन्त्री हुने ? को राष्ट्रपति हुने ? कसले प्रधानमन्त्री छोड्दिन भन्यो रे । अर्कोले म पनि छोड्दिन भन्यो रे । यस्तै कुरामा सरकार गठन अड्किएको छ । यस्तै कुराको लेनदेनबाट सरकार गठन हुने हो । एमालेबाहेकका दलहरूको कुरा भन्ने हो भने दलहरू नेताका स्वार्थ, लोभ र पदीय आकाङ्क्षाका बन्धक बनेका छन् ।
त्योभन्दा बाहिर जान सक्दैनन् । किनभने उनीहरूसँग विचार छैन । उद्देश्य छैन, गन्तव्य छैन । उनीहरूलाई आफ्नो स्वार्थ कसरी पूरा हुन्छ भन्नेमात्रै छ । आम चुनावपछि नयाँ सरकार बन्नु अपरिहार्य छ । तर सरकार किन र के का लागि बन्ने ? भन्ने कुरा आएपछि मात्रै सरकार कस्तो बन्ने भन्ने कुरा आउँछ । सरकार त देशका लागि हुनुपर्ने । जनताका लागि बन्नुपर्ने । सुशासन र विकासका लागि बन्नुपर्ने ।
यस विषयमा चर्चा हुनुपर्ने । यस विषयमा केन्द्रित हुनुपर्ने हो । सरकार गठनको यस्तो अनुचित, अपवित्र र फोहोरी उद्देश्य र अभ्यासप्रति हाम्रो पार्टी पूर्णरूपमा असहमत छ । हामी सत्ता अथवा प्रतिपक्ष जहाँ सुकै रहूँ । सत्तामा रहुँ वा प्रतिपक्षमा । जहाँ भए पनि हामी राष्ट्रियता, लोकतन्त्र, स्वच्छता, सुशासनयुक्त कानुनी राज, आर्थिक र सामाजिक विकास, सामाजिक न्याय र समानता, शान्ति सुव्यवस्थालगायत नागरिक सम्मान एवम् राजनीतिक, सामाजिक स्थिरता र स्थायित्वको पक्षमा दृढतापूर्वक उभिन्छौँ ।’
अध्यक्ष ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशनअनुसार नवनिर्वाचित सांसदलाई निर्देशन दिनुभयो । पार्टीले देश र नागरिकको हितबाहेक अरू केही पनि नहेर्ने भएकाले पार्टीका सांसदले पनि आफ्नो पार्टी र पार्टी संसदीय दलको आदेश र निर्देशनलाई दृढताका साथ पालना गर्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
बुथ क्याप्चर भएको ठाउँमा पनि चुनाव नदोहोर्याएर आयोगले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको उनको आरोप थियो । अध्यक्ष ओलीले मरेका मान्छेले समेत मत हाल्दा पनि आयोगले पुनः चुनाव गराउने काम नगरेर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको जिकिर गरे । उनले आउँदा दिनमा आयोगका त्यस्ता गतिविधिलाई रोक्नैपर्नेमा जोड दिए ।






