नेपालगन्ज । प्रेस चौतारी नेपाल बाँकेले नेपाल पत्रकार महासंघ बाँके शाखालाई ज्ञापनपत्र बुझाएको छ । चौतारी नेपाल बाँके शाखाका अध्यक्ष दुर्गा रोकाय नेतृत्वको टोलीले आईतबार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो । उक्त ज्ञापन पत्रमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको २०७७ चैत २० गतेको परिपत्र अनुसार सदस्यता प्राप्त गरेका (चौबिस जना सदस्य र तीन जना पुरानो नविकरण) सदस्यलाई नविकरण गर्नबाट बन्चित गरिएको
र लुम्बिनी प्रदेश समितिको सिफारिसका नाममा केन्द्रीय समितिले बाँके लगायतका जिल्लामा जबर्जस्ती सदस्य स्थानान्तरण गरेको बिषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । तत्कालिन अबस्थामा ‘केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन सम्पन्न भएपश्चात कायम हुने गरी सदस्यता अभिलेखीकरण गरिएको’ उल्लेख गरेर ‘सदस्यता नविकरण गर्नु’ भन्दै केन्द्रले नै सदस्यता दिएका सदस्यलाई हालसम्म पनि बिभिन्न बाहना बनाएर नविकरण गर्नबाट बन्चित गरिएको अबस्था रहेको जनाएको छ ।
‘कायम सदस्यलाई नविकरण गर्न बन्चित गरेको महासंघले लुम्बिनी प्रदेश समितिको सिफारिसका नाममा केन्द्रीय समितिले बाँके लगायतका जिल्लामा सदस्यता स्थानान्तरण गरेर महासंघले आफनै सदस्यका हकमा दोहोरो चरित्र देखाएको र बिभेद गरेको हाम्रो ठहर छ ।’ ज्ञापनपत्रमा भनिएको छ,‘ स्थानान्तरण गरिएका सदस्यहरु पत्रकारितामा सक्रिय नभई ‘अमुख नेताका श्रीमती, भाईबहिनी, बुहारी, सालासाली, बिशुद्ध व्यापारी तथा शिक्षक शिक्षिका’
रहेका भनि बाँकेका पत्रकारहरुले गरेको सार्वजनिक टिप्पणी र नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाले सार्वजनिक गरेको यसै आशयको बिज्ञप्तीले चिन्तित र गम्भीर बनाएको छ ।’ पछिल्लो सयम गैरपत्रकारलाई काठमाण्डौंमा प्रतिष्ठान शाखाका नाममा एकमुष्ट रुपमा सदस्यता दिलाउने र ती सदस्यलाई एकमुष्ट रुपमै जिल्ला—जिल्लामा नियोजितरुपमा स्थानान्तरण गर्ने गरिएको पाइएको चौतारीले जनाएको छ ।






