काठमाण्डौ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठकमा नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई मिलेर जान सुझाव देखिएका छन् । संसदीय दलको नेताको उम्मेदवारमा कोइराला र थापा मध्ये एक जना मात्र अगाडि सर्नुपर्ने नेताहरूको सुझाव छ । काठमाण्डौमा चलिरहेको शेखर–गगन समूहको बैठकमा नेता बलबहादुर केसीले गगन थापालाई संसदीय दलको नेतामा अगाडि बढाउन उपयुक्त हुने राय राखेको स्रोतले बताएको छ ।
सोलुखुम्बुमा प्रतिनिधिसभा सदस्यमा पराजित केसीले सभापति शेरबहादुर देउवाविरुद्ध थापालाई अगाडि सार्नु उपयुक्त हुने बताए । तर सांसदहरु भने कसैको पक्षमा नखुलेको बैठकमा सहभागी एक नेताले बताए । १४ औं महाधिवेशनमा संस्थापन इतर पक्षलाई इन्ट्याक राख्न नसक्दा देउवा पुनः सभापति बन्ने अवस्था आएको नेताहरुले स्मरण गराएका थिए ।
संस्थापन इतर पक्षलाई बलियो बनाउन कोइराला र थापा मध्ये एक जना मात्र संसदीय दलको नेता लड्नुपर्ने नेताहरुको भनाइ छ । नेता अर्जुननरसिंह केसीले पनि महामन्त्री थापालाई संसदीय दलको नेतामा अगाडि सार्दा उपयुक्त हुने धारणा राखेको बैठक स्रोतले बतायो । उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बन्द्री पाण्डे, जीवन परियार लगायतका नेताले कोइराला र थापालाई मिल्न सुझाएका थिए ।
नेता चन्द्र भण्डारी, सञ्चय गौतम, हृदयराम थानी, डिगबहादुर लिम्बु लागका सांसदहरुले कोइरालालाई अगाडि सार्दा उपयुक्त हुने राय राखेको स्रोतको भनाइ छ । सोमबार विहानैबाट छलफल भए पनि अहिलेसम्म सहमति जुटेको छैन । महाधिवेशनमा नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला नेतृत्व परिवर्तनको विपक्षमा उभिने अवस्थाको मध्यनजर गरी मिलेर जानुपर्ने नेता केसीको भनाइ छ ।






