काठमाण्डौ । नेकपा (एकीकृत समाजबादी) का महासचिव डा. बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) बाट सिक्नुपर्ने बताएका छन् । आज मङ्गलबार काठमाण्डौको तीनकुनेमा रहेको पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्दै भुसालले प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्नुपर्ने बताएका हुन् ।
गुरुङले आफ्नो विगतलाई बदलेर राजनीतिलाई जनसेवाको रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको उल्लेख गर्दै भुसालले त्यसलाई सकारात्मकरूपमा लिनुपर्ने तर्कसमेत गरे । गुरुङको विगतलाई लिएर कतिपयले टिप्पणी गरेको भन्दै महासचिव भुसालले अब भने वर्तमानमा गरेको कामलाई हेरेर साथ दिनुपर्ने पनि बताए ।
उनले भने,‘उहाँ आफैँले भन्नु भएको छ– राजनीति सेवा हो । जनसेवा हो । त्यो जनसेवामा एक्लै बसेर हुँदैन । पार्टीमा आबद्ध भएर जानुपर्ने रहेछ भन्ने महसुस गरेर म यो पार्टीमा आएको हुँ भन्नुभएको छ । उहाँको विगतलाई लिएर टिप्पणी गर्ने गरिएको पाइन्छ । तर हामीले के बुझ्नु पर्छ भने मान्छे मान्छे नै हो, जसले राम्रो काम पनि गर्छ । कहिलेकाँही काम गर्दै जाँदा गल्ती पनि गर्छ ।
मान्छेलाई, मान्छेको इतिहासलाई विगतको आँखाले मात्रै हेर्न हुँदैन । विगत, वर्तमान र भविष्य सबै हुन्छ हाम्रा अगाडि । त्यसैले विगतमा के थियो भन्ने कुरा भन्दा पनि वर्तमानमा के छ भनेर हेर्नुपर्छ । राजीवजीले आफ्नो विगतलाई बदलेर जनसेवाको भावनाले राजनीति गर्छु, अगाडि बढ्छु भन्ने प्रतिबद्धताका साथ अगाडि बढ्नुलाई सकारात्मक ढङ्गले लिनु पर्दछ । उनले गरेका कामबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ ।
कार्यक्रममा बोल्दै गुरुङले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने र त्यसमा आफू पर्ने भएकाले कसैले पनि मन्त्रीका लागि आफूलाई सिफारिस गर्नु नपर्ने दाबी गर्नुभयो । उहाँले युवा तथा खेलकुद मन्त्रीको रूपमा आफूले गण्डकी प्रदेशमा अरू प्रदेशले भन्दा धेरै काम गरेको जिकिरसमेत गरे । राष्ट्रिय खेलकुद प्रतियोगितालाई सम्पन्न गराउन आफूले मन्त्रीको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।
मनाङ प्रदेश सभा (ख) का स्वतन्त्र सांसदसमेत रहेका गुरुङ हिजो सोमबार नेकपा (एकीकृत समाजबादी) मा प्रवेश गरेका थिए । उनले आफू यस पार्टीमा प्रदेशको मुख्यमन्त्री पाउन र मन्त्री बन्नका लागि नआएको उल्लेख गरे ।






