चितवन । नारायणी नदी तटबन्धको काम शुरु भएको छ । हिउँद लागेसँगै नारायणी नदी तटबन्धको शुरु भएको कामको मेयर रेणु दाहालद्धारा गरिएको छ । नारायणी नदी तटबन्धका लागि सङ्घीय सरकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट झन्डै पाँच अर्ब रुपैयाँ बजेट विनियोजन भइ चार वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ । आज सोमबार भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालको नेतृत्वमा आयोजनको अनुगमन तथा निरीक्षण गरिएको छ ।
निरीक्षणका क्रममा मेयर दाहालले तटबन्धनको कार्य प्रगतिको बारे जानकारी लिएकी थिईन् । तटबन्धका लागि अहिले केही ठाउँमा बिग बोल्डर (ठूलो चट्टान) झार्ने काम भइरहेको छ भने क्याम्पहरू निर्माण पनि भइरहेको छ । यस्कालागि प्याकेजको बोलपत्र आह्वान पनि भइसकेको छ । ठेक्का सम्झौता भएको चार वटा प्याकेजमा धमाधम काम सुरु भएसँगै यो कामले गति लिएको हो ।नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार रामघाटदेखि शिवघाट हुँदै काभ्रेघाटसम्म झन्डै पाँच किलोमिटर एक अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौता भएको छ ।
दोस्रो प्याकेज पाँच किलोमिटरकै गाजीपुरदेखि हिरापुरसम्म ४८ करोड रुपैयाँको ठेक्का सम्झौता भएको छ । सिसैदेखि बलुवासम्म झन्डै पाँच किलोमिटर ३७ करोड रुपैयाँको ठेक्का सम्झौता भएको छ । बलुवादेखि गोलाघाटसम्म २६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ । पाँचौँ प्याकेज नारायणी सिबिचको काम पुलदेखि झन्डै एक किलोमिटर अगाडि बोलपत्रको काम भइ अहिले मूल्याङ्कनको क्रममा छ । यो प्याकेजको लागत अनुमान २० करोड रुपैयाँ रहेको छ ।
नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी बुढाथोकीले अहिलेसम्म तीन प्रतिशत काम पूरा भइसकेको जानकारी दिनुभयो । अबको केही समयपछि आँखाले देखिने गरी तटबन्धले आकार लिने छ । अनुगमनपछि मेयर दाहालले महानगरपालिकामा धेरै वटा आयोजना सञ्चालन हुँदै आए पनि नारायणी नदीको तटबन्धको कामलाई प्राथमिकतामा राखेको उल्लेख गरिन् । नारायणी र राप्ती नदीको तटबन्ध गर्न सकेमात्र भरतपुरको दिगो विकास हुने भएकाले यो आयोजना प्राथमिकतामा रहेको उनको भनाइ थियो ।






