काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई युवा नेतृत्वको आवश्यकता रहेको भन्दै उक्त आवश्यकता पुरा गर्नकालागि प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन् । उनले नागरिकको भरोसालाई जोगाउन प्रधामन्त्री बन्नका लागि आफ्नो आवश्यकता रहेको बताएका छन् । महामन्त्री थापाले लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाको नेतृत्व देशलाई आवश्यक भएको बताए ।
उनले नेपाली कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको बताए । अबको देशको नेतृत्व नेपाली कांग्रेसले नै गर्ने र कांग्रेसले नेतृत्व गर्दा नयाँ नेतृत्व दिनसके मात्रै नागरिकलाई आश्वस्त बनाउन सकिने बताए । नयाँ कुरा दिन नसके प्रारम्भबाट नै विश्वासको कडी टुट्ने उनको भनाई छ । चुनाव अघिदेखि नै अबको नेतृत्व आफूले गर्ने बताउँदै आएका महामन्त्री थापाले निर्वाचित भएको दिन नै संसदीय दलको नेताका लागि तयारी थाल्ने बताएका थिए ।






